राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुलीले आफ्नो कार्यकालमा हिंसामा परेका महिलाले न्याय पाउने गरी काम गर्ने बताएकी छन्।
आयोगले १११औँ अन्तरराष्ट्रिय महिला दिवसका अवसरमा आज आयोजित पत्रकार–अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले ‘महिला आयोगमा जाँदा न्याय पाइन्छ’ भन्ने विश्वास दिलाउने गरी काम गर्ने बताएकी हुन्।
'महिलाको विषयमा सबैले गम्भीरतापूर्वक सोच्नुपर्छ' उनले भनिन्, 'महिलामाथि हिंसा गर्ने पीडितलाई दोषी ठहर गरेर अभियानसमेत सञ्चालन गर्ने तयारी गरिरहेका छौं।'
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीसँग छलफल गरी महिला हिंसाका बारे बालबालिकालाई जानकारी दिन पाठ्यक्रममा नै समावेश गर्न सुझाव दिइएको उनले बताइन्।
'बालिका र किशोरीमाथि विद्यालय, कार्यस्थल वा परिवारकै आफन्तबाट नै हिंसाका घटना आउने गरेको हुँदा हिंसामुक्त समाज निर्माणका लागि सचेतना कार्यक्रम नै सञ्चालन गर्नुपर्ने जरुरी छ' उनले भनिन्।