मुकेश पोखरेल
२०३२ भदौमा तत्कालीन संरक्षण अधिकृत कृष्णमान श्रेष्ठ, अनुसन्धानकर्ता डा. एरिक डाइनरस्टाइन र गेमस्काउट गगन सिंह बर्दियामा कृष्णसार खोज्न निस्किए। २००७ सालअघि बर्दियादेखि कञ्चनपुरसम्मका घाँसे मैदानमा सजिलै देख्न पाइने कृष्णसार एकाएक हराएपछि कृष्णसारको खोजी गरिएको थियो। त्यतिबेला बर्दियामा नौ वटा कृष्णसार फेला परेको बर्दिया गुलरिया नगरपालिका २ स्थित खैरापुरस्थित कृष्णसार संरक्षण क्षेत्रका प्रमुख संरक्षण अधिकृत अर्जुन भुसाल बताउँछन्।
कुनै बेला तराईमा प्रशस्त पाइने कृष्णसार भेटिन छाडेपछि सरकारले संरक्षणको प्रयास थाल्यो। यही प्रयासबाट झन्डै चार दशकपछि कृष्णसारको संख्या ३२५ पुगेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ। जसमध्ये खैरापुरको संरक्षण क्षेत्रमा १९२ वटा र कञ्चनपुरको शुक्लाफाँटास्थित हिरापुरमा १३३ वटा कृष्णसार छन्। शुक्लाफाँटामा २०६९ असोजमा नेपालगञ्जबाट आठ वटा भाले, १४ वटा पोथी तथा ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानाबाट तीन भाले, दुई पोथी र एक बच्चा कृष्णसार स्थानान्तरण गरिएका थिए।
बर्दियाको खैरापुरमा २०३२ सालदेखि कृष्णसार संरक्षण क्षेत्रको काम शुरू गरेर २०६५ सालमा मात्र संरक्षण क्षेत्र घोषणा गरिएको हो। त्यहाँको १ हजार ६९५ हेक्टर जमीनलाई कृष्णसार संरक्षण क्षेत्रका रूपमा राखिएको छ।
त्यसअघि २०३४ सालदेखि २०४९ सम्म बर्दिया राष्ट्रिय निकुञ्ज अन्तर्गत बघौरा फाँटमा कृष्णसारको वासस्थान विकास गर्ने प्रयास गरिएको थियो। बघौरा फाँटमा २०३४ सालमा सदर चिडियाखानाबाट १६ वटा कृष्णसार स्थानान्तरण गरिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उप–सचिव (प्राविधिक) नारायण रुपाखेती बताउँछन्।