रुकुम (पूर्व)को सिस्ने गाउँपालिकाले चालू आर्थिक वर्षमा प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि विनियोजित बजेट सबै वडामा पठाउने भएको छ।
पारिश्रमिकमा आधारित सामुदायिक आयोजना सञ्चालनका लागि विनियोजित सशर्त अनुदानको रु एक करोड ४४ लाख २५ हजार बजेट वडामा सूचीकृत बेरोजगार सङ्ख्याका आधारमा गाउँपालिकाको आठवटै वडामा पठाउने निर्णय कार्यपालिका बैठकले गरेको छ।
यस्तै जिल्ला सदरमुकाम छिप्रीदहमा बजारीककरण बढेसँगै सार्वजनिक शौचालयको आवश्यकता खड्किएको छ। सार्वजनिक शौचालय नभएकै कारण नागरिकले लामो समयदेखि सास्ती खेप्दै आएका छन्।
सोही समस्यालाई मध्यनजर गर्दै गाउँपालिका अध्यक्ष कुमारी बरालको अध्यक्षतमा बसेको ५९आँै कार्यपालिका बैठकले सार्वजनिक शौचालय निर्माण गर्ने निर्णय गरेको छ जसका लागि रु तीन लाख ५० हजार बजेट छुट्याइएको गाउँपालिकाका प्रवक्ता जीवन केसीले जानकारी दिए।
उनका अनुसार सिस्ने हिमालको प्रचारप्रसारसँगै पर्यटकहरुका लागि पदमार्ग पनि निर्माण गरिने भएको छ। रुकुम (पूर्व) महत्वपूर्ण पर्यटकीय गन्तव्य सिस्ने हिमालको आरोहणसँगै सोही हिमाल हुँदै पुथा हिमाल र ढोरपाटनसम्म पुनः सिस्ने हिमाल हँुदै डोल्पा जान रुचाउने पदयात्रीका लागि पदमार्ग निर्माण गरिने भएको हो।
जसका लागि रु तीन लाख ७० हजार बजेट विनियोजन गरी कार्यान्वयन प्रक्रिया अगाडि बढाउने गाउँपालिकाका प्रवक्ता केसीले बताए। हालसालै मात्र हिमाल आरोही मानबहादुर खत्री नेतृत्वको टोलीले सिस्ने राउण्डको अन्वेषण गरिसकेको छ।
गाउँपालिकाले पनि रुकुम (पूर्व)का हिमालहरुसँग रमाउँदै डोल्पा जाने पदमार्ग निर्माण ग¥यो भने पर्यटनको क्षेत्रमा ठूलो टेवा पुग्ने अपेक्षा गरिएको छ।
यतिमात्र नभई सिस्नेले गाउँपालिकाभित्र रहेका दलित तथा अति विपन्न बिरामीको उपचारका लागि रु १० हजार बराबरको उपचार कोष खडा गर्ने निर्णय गरेको छ।
पहिले जटिल प्रकारका रोगहरु लागेका बिरामीलाई सहयोग गर्दै आएको गाउँपालिकाले अहिलेको कार्यपालिका बैठकबाट साना रोग लागे पनि उपचार गर्न नसक्ने दलित तथा अति विपन्न परिवारका लागि उक्त कोष खडा गरेको गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाले दलित तथा अति विपन्न परिवारका लागि उपचार कोष खडा गरेपछि लक्षित समुदायका व्यक्ति खुशी भएका छन्।
कागती खेतीमा सक्रिय युवा
तुलसीपुर उपमहानगरपालि–१९ विजौरी धेरै वर्षसम्म बाँझो जग्गा केही वर्षदेखि हरियाली बनेको छ।
उक्त जग्गामा लटरम्म फलेका कागतीका बोटैबोट देखिन्छन्। बोटैपिच्छे लटरम्म फलेका मुखै रसाउने कागती। त्यही कागती अवलोकन गर्नेहरुको उत्तिकै भीड पनि।
तुलसीपुर उपमहानगरपालिका–१९ विजौरीमा डेढ बिघा र घोराहीमा चार बिघा क्षेत्रफल जग्गा भाडामा लिएर दुई युवाले गरेको कागती खेती उदाहरणीय बनेको छ। ती स्थान अहिले कागती खेतीले परिचित बनेका छन्।
घोराहीमा वार्षिक रु तीन हजार कट्ठा र तुलसीपुरमा रु दुई हजार ५०० मा जग्गा भाडामा लिएर रुकुमका विष्णु वली र रामचन्द्र खड्काले व्यावसायिक कागती खेती गरेका हुन् ।
धेरै युवा विदेश पलायन भएका छन्। तर नेपालमै पनि मनग्य आम्दानी गर्न सकिन्छ भन्ने एउटा उदाहरण ती युवाहरुलाई हेर्न सकिन्छ।
उनीहरुले सूर्य जैविक कृषि केन्द्र प्रालिमार्फत कागती खेती शुरु गरेको तीन वर्ष भयो। खेती शुरु गरेको डेढ वर्षदेखि आम्दानी लिन शुरु गर्नुभएका उनीहरुले वार्षिक रु १५÷२० लाखको हाराहारीमा आम्दानी गर्ने गरेका हुन्
कागतीको बजार माग पनि उच्च रहेकाले समयमै लगानी उठाउन सहज हुने उनले बताए।
उनका अनुसार शुरुमा आफूहरुले रु ३० लाख लगानी गरेको भए पनि अहिलेसम्म करीब एक करोड लगानी भइसकेको छ। अहिले ‘पन्त १’ कागतीको खेती भइरहेको छ।
जुन कागती अचार, जुस, जामलगायतका लागि बढी माग हुने गरेको अर्का व्यवसायी खड्काले बताए। ‘कागती बजारमा निकै माग छ, अहिले बजारको मागअनुसार पु¥याउन भ्याइनभ्याई छ’ उनले भने, ‘बढी मात्रामा अचार, जुस, जामलगायतका लागि माग हुने गरेको छ।’
दाङका दुई स्थानमा आफूहरुले यो खेती गरेको भन्दै यसलाई विस्तार गरेर देशैभर खेती गर्ने वातावरण तयार गर्न थालिएको व्यवसायी वलीले बताए।
‘अहिले हामी दुईजना छौँ, हामीले देशैभर यो खेती विस्तार गर्ने योजना बनाएका छौं’ उनले भने, ‘त्यसका लागि १०८ जना किसान थप गर्ने हाम्रो योजना छ।’ उनका अनुसार आफूले उत्पादन गरेको कागती देशभर पु¥याउने योजना छ।
कागती फलाउने र बेच्ने कार्य मात्रै भएको भन्दै कागती प्रशोधन गर्ने र बजारीकरण गर्ने तयारी थालिएको उनको भनाइ छ।
आफूहरुले बिरुवा पनि उत्पादन गरिरहेको भन्दै आउँदो वर्ष ५० हजार बिरुवा बेच्ने योजना बनाएको उनको भनाइ छ। एउटा बिरुवाको फुटकरमा रु २५० मा बिक्री गर्ने गरिएको छ। रासस