सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थानले आफ्नो व्यवसाय विस्तार गर्ने र बीमाको पहुँच बढाउने ध्येयका साथ शाखा बढाउने क्रमलाई तीव्र पारेको छ।
निजी क्षेत्रका बीमा कम्पनीले धेरै स्थानमा शाखा खोल्दै व्यवसाय विस्तार गरिरहेको बेला संस्थानले पनि अब क्रमशः देशभर नै आफ्नो उपस्थिति जनाउन लागेको हो।
संस्थानले पछिल्लो पटक काठमाडौँको चाबहिलमा १७ औँ र भक्तपुरको सूर्यविनायकमा १८ औँ शाखा सञ्चालनमा ल्याएको जनाएको छ।
संस्थानले आज जारी गरेको विज्ञप्तिअनुसार चाबहिल शाखाको सोमबार काठमाडौँ महानगरपालिका–७ का अध्यक्ष सुतकुमार डङ्गोल र संस्थान सञ्चालक समितिका अध्यक्ष गङ्गाराम कँडेलले संयुक्तरुपमा उद्घाटन गरेका छन्।
वडाध्यक्ष डङ्गोलका अनुसार चाबहिल क्षेत्रमा शाखा सञ्चालनमा ल्याएकामा आभार प्रकट गर्दै सरकारी संस्थान भएकाले बीमा व्यवसाय र साक्षरता अभियान चलाउनु जरुरी छ।
संस्थान सञ्चालक समितिका अध्यक्ष कँडेलले बीमा जीवनको सुरक्षाका साथै राष्ट्रको आर्थिक विकासका लागि पनि मेरुदण्ड भएको बताए। चावहिलमा शाखा सञ्चालनमा आएपछि सो क्षेत्रका बासिन्दा केन्द्रीय कार्यालयसम्म पुगिरहन नपर्ने उनले बताए।
संस्थानका प्रशासन कवि पाठकले जीवन बीमामै जेठो कम्पनी संस्थान जीवन बीमा व्यवसायमा जीवन बीमा कोषको आधारमा चौंथो र बीमा शुल्क सङ्कलनको आधारमा तेस्रो स्थान हासिल गर्न संस्थान सफल भएको बताए। नेपाली बीमा बजारमा आफ्नो हिस्सा क्रमशः बढाउँदै लाने कार्यमा संस्थान अझ प्रयत्नशील रहने उनको भनाइ थियो।
यस्तै संस्थानको सूर्यविनायकमा सञ्चालनमा आएको नयाँ शाखाको मङ्गलबार सूर्यविनायक नगरपालिकाका मेयर वासुदेव थापा र संस्थानका अध्यक्ष कँडेलले संयुक्तरुपमा उद्घाटन गरेको संस्थानले जनाएको छ।
संस्थानको काठमाडौँको कलङ्कीमा अर्को शाखा सञ्चालनमा आइसकेको छ भने ललितपुरको लगनखेलमा पनि तयार भएको कार्यालयबाट छिट्टै कारोवार शुरु हुन लागेको संस्थानले जनाएको छ। योसँगै संस्थानको उपत्यकाभित्र शाखा सङ्ख्या चार पुगेको छ। रासस