कमिसन बापत लिएको ८ लाख रुपैयाँ घुस काण्डका फरार आरोपी धनुषा बटेश्वर गाउँपालिका अध्यक्ष डम्बर बहादुर राउत क्षेत्रीको कार्यकक्ष बाहिर आक्रोशित स्थानीयले ‘चोर’ भनेर लेखेका छन्।
विभिन्न पार्टीका स्थानीय नेता तथा कार्यकर्तासहित नागरिक समाज र त्यहाँका सर्वसाधारणले घुस काण्डका फरार आरोपी गाउँपालिका अध्यक्ष डम्बरको कार्यकक्ष बाहिर रहेको ‘नेम प्लेट’ मा ‘चोर’ शब्द लेखेर आक्रोश पोखेका हुन्।
आक्रोशित स्थानीयको भीडले गाउँपालिका अध्यक्ष डम्बर, प्रमुख प्रशासकीय अधिकृत र लेखा शाखाको ढोकामा ताला समेत लगाए।
उनीहरुले ढोकामा ‘भ्रष्टाचारी गाउँपालिका अध्यक्षलाई कारवाही गर’, ‘८ लाख घुस लिने घुसखोरी अध्यक्ष मुर्दावाद’ र ‘गाउँपालिकाको सम्पूर्ण विकास योजना सार्वजनिक गर’ जस्ता नारा लेखिएको पम्पलेट टाँसिदिए।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको जिल्ला कमिटी धनुषाले अध्यक्ष डम्बर बस्ने कक्षको ढोकामा प्रेस विज्ञप्ति टाँसेर भ्रष्टाचारीलाई कडाभन्दा कडा कारवाहीको माग गरेको छ।
जिल्ला अध्यक्ष मनिष यादवले जारी गरेको विज्ञप्तिमा भ्रष्टाचारी गाउँपालिका अध्यक्ष डम्बरलाई कारवाही नगरे अनेरास्वीयु जस्तो सुकै कदम चाल्न बाध्य हुने जनाएको छ।
बटेश्वर गाउँपालिकाका नागरिक समाजले गाउँपालिका अध्यक्षको कार्यअवधिको सम्पूर्ण आयव्यय पारदर्शी, अध्यक्षको कार्यअवधिमा भएको सम्पूर्ण योजनाको स्पष्ट विवरण उपलब्ध गराउन, अध्यक्षको मिलोमतोमा शिवशक्ति मावीमा भइरहेको भ्रष्टाचार नियन्त्रण, अध्यक्षलाई यथाशिघ्र निलम्वन र प्रशासनले मिलोमतो बीचबाटोबाटै भगाएका अध्यक्ष डम्बरलाई समातेर कारवाही गर्न मागसहितको पर्चा गाउँपालिकाको मुख्यद्वारमा टाँसेको छ।
सर्वसाधारणले भ्रष्ट अध्यक्षलाई पक्राउ गर्न माग गर्दै मंगलबार बिहान ९ बजेदेखि १२ बजेसम्म कार्यालयको मुख्यद्वारमा ताला लगाएर धर्नामा दिएका थिए।
शिक्षा, स्वास्थ्य र कृषि शाखा पनि सोही प्राङ्गणभित्र भएकाले ती शाखाको काममा व्यावधान उत्पन्न भएपछि मुख्यद्वारको ताला खोलेर गाउँपालिका अध्यक्षको कार्यकक्ष, प्रमुख प्रशासकीय र लेखा प्रमुख बस्ने कक्षमा तालाबन्दी गरेका छन्।
तालाबन्दीबाट गाउँपालिकाको प्रशासनीक कामकाज दिनभरी प्रभावित बनेको थियो। उनीहरुले अध्यक्ष राउतलाई कारवाही नभएसम्म र ठोस छलफल नभएसम्म कार्यालयमा लगाइएको ताला खोल्न नदिने अडान लिएका छन्।
स्थानीयले बटेश्वर गाउँपालिकाका हरेक योजनामा अध्यक्ष राउतले कमिसन लिएको आरोप लगाउँदै उनीहरुले हरेक विकासे योजनाको फाइल नियन्त्रणमा लिई अख्तियारलाई थप अनुसन्धान गर्न समेत माग गरेका छन्।
एउटै योजनाको भुक्तानीमा मात्र ८ लाख रुपैयाँ बढी कमिसन लिएको आरोप लगाउँदै तालाबन्दी गरेकाले सबै योजनामा ठेकेदार, उपभोक्ता समिति तथा कर्मचारीसँग व्यापक कमिसन असुली गरेको आरोप लगाएका छन्।
सोमबार साँझ कमिसन बापत लिएको ८ लाख रुपैयाँ गाडीबाट फालेर अख्तियारलाई छलेर बटेश्वर गाउँपालिका अध्यक्ष राउत फरार भएका थिए।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गर्न खोज्दा अध्यक्ष राउत घुस लिएको पैसाको झोला फालेर फरार भएका छन्। उनी पैसाको झोला झाडीमा फालेर भागेका थिए।
गाउँपालिका अध्यक्ष राउतले विकासे योजनाको भुक्तानी दिँदा कमिसन वापत ८ लाख रकम घुस लिएका थिए।
उनले घुस लिएको रकमबारे गोप्य सुचनाका आधारमा अख्तियारको टोलीले उनको पिछा गरेको थियो। गाउँपालिका प्रमुख क्षेत्रीलाई अख्तियारको केन्द्रीय कार्यालयबाट खटिएको विशेष टोलीले रगेहात पक्राउ गर्न पिछा गरेको थियो।