किन अलप भए दीपक लिम्बु ?

अनलाइनखबर

काठमाडौं

नेपाल टेलिभिजनबाट प्रसारण भएको पहिलो सांगीतिक रियालिटी शो ‘नेपाली तारा’ एक यस्तो प्लेटर्फम थियो, जहाँ टेकेर कतिपयले फड्को मारे । जस्तो, इन्दिरा जोशी, धमेन्द्र सेवान, रुपक डोटेल, दुर्गा खरेल । यसको अग्रपंक्तिमा थिए, दीपक लिम्बु ।

‘नेपाली तारा’का यी शीर्ष विजेता अहिले भने यो लहरभन्दा पछाडि छन् । अझ भनौं, गुमनाम जस्तै छन् । 

करियरको पूवार्द्धमा उनको चर्चाको ग्राफ यसरी चुलिएको थियो, मानौ यो चमक-दमक दीर्घकालीन हो । रियालिटी शोबाट पाएको नेम र फेमले उनलाई नेपाली सिनेमाको पाश्र्व गायनमा गतिलो ढंगले नै स्थापित गरिदियो । ‘मेरो कल्पनामा आज एउटी परी’, ‘ढल्क्यो ढल्क्यो’, ‘यहाँ देशको छ चिन्ता’, ‘मुटु माग्यौ तिमीले’ जस्ता गीतले स्रोतालाई झट्टै स्पर्श गर्‍यो । स्टुडियोदेखि स्टेजसम्ममा दीपक लिम्बुको माग भयो ।

तर, समय सधैं दाहिना नहुने रहेछ । क्रमशः उनको स्वर सुनिन छाड्यो । दृश्यपटलबाट एकाएक उनी अलप भए । ‘दीपक लिम्बु कता हराए ?’ प्रसंगबस् धेरैले सोधे ।

हालैको भेटमा हामीले पनि सोही प्रश्न दोहोर्‍यायौं । त्यसबखत उनको रक्षात्मक जवाफ यस्तो थियो, ‘म हराएको होइन, खोज्नेले नखोजेको हो । खोज्नुहोस् त म भेटिहाल्छु नि । तपाईंले खोज्नुभयो, भेटिएँ ।’

उनी त यो प्रश्नप्रति नै गुनासो गर्छन् । भन्छन्, ‘बजारमा नखोज्ने तर हरायो भन्ने परिपाटी छ । बरु मेरो गीत पहिलेजस्तो नआएका होलान् । पहिलेजस्तो नचलेका होलान् । तर म आज पनि सांगीतिक क्षेत्रमै व्यस्त छु ।’

हिजोका दिनमा जस्तो आज छैन । गीत गाउने मेलोमेसो हिजो जसरी मिलिरहेको छैन । रेकर्ड गराएको गीत हिजोको जसरी रुचाइदिएका छैनन् । यो कुरा भने उनी स्वीकार्छन् ।

उनको प्रष्टोक्ति छ, ‘पहिलेको तुलनामा गीतहरु कम आएको हुनाले सुस्ताएको चाहिँ हो ।’

प्रकाशित मिति: : 2021-03-02 10:38:00

प्रतिकृया दिनुहोस्