आइतबार राति तातोपानी २ पुइतपुरका असेैजे कामी दिनभर अटो चलाएर घर फर्किए। साँझ बाबिरामा रहेको घरमा राखेर सुते। बिहान उठ्दा उनको अटो थिएन।
हतारिएर पाँच सय मिटर अगाडि पुगेपछि अटो भेटियो। तर पुरै जलेको अवस्थामा। उनी मर्माहत भए। गाउँकै साहुबाट वर्षको ३६ प्रतिशत ब्याजमा ऋण काडेर किनेको अटो किनी गुजारा गर्ने गरेका उनको कमाई खाने भाँडो जलाइयो। उनको अटोमात्र होइन उनको मन पनि जलाइयो।
'केही होला भन्ने आश लागेको थियो। कमाइ राम्रै थियो। साँवा तिर्न नसेके पनि ब्याज तिरिरहेको थिए' उनले निराश हुँदै भने- 'अलिअलि गरी तिरिहालौंला सोचेको थिए। सब सपना चकनाचुर भए।'
कमाई खाने भाँडो नै नरहेपछि। सँगै काम गरिरहेका साथिहरुसँग गएर उनी रोए। समिति गुहारे। अटो चालकहरुको समिति भैरवनाथ यातायात व्यवसायी संघले उनको घाउमा मलम लाउनलाई एउटा निष्कर्ष निकाल्यो-'हामी असुरक्षित भयौं।'
'जिल्लाको शान्ति सुरक्षा कमजोर भएको हुँदा यसलाई मजबुत बनाउन र सबै नागरिकलाई सुरक्षित भएको महसुस गराउन आन्दोलनमा उत्रियौं'- समितिका अध्यक्ष लक्ष्मण सुनारले भने।
'बेलाबेलामा हाम्रा अटो चालक साथिहरुलाई ट्राफिकले समेत तनाव दिइरहेको छ। हामीलाई अरु यातायात व्यवसायीको जस्तो व्यवहार गरिदैन। यतिसम्मकि राम्रो बाटोघाटो भएको ठाउँमा हामीलाई अटो चलाउन सम्म प्रतिबन्ध लगाइएको छ। यातायात कार्यालयबाट प्रमिट दिन आनाकानी हुन्छ।' लक्ष्मणले थपे।
उनले आक्रोसित भएर यति भन्दै गर्दा हामीले कारण के हो भनि सोधेका थियौं। उनले नरम हुँदै जवाफ दिए, 'असी प्रतिशत भन्दा बढी अटो चालक दलित समुदायका छन्। लगभग सबैको आम्दानी न्युन छ। ९५ प्रतिशत भन्दा बढीले अटो किन्दा लघुवित्तको २० प्रतिशत देखि गाउँका साहुको ३६ प्रतिशत सम्म ब्याज तिर्नेगरी ऋण झिकेका छन्। महंगो ब्याज तिरेर बचेका रुपैयाँले पेट पाल्ने हाम्रो सरकारी निकायमा पहुँच पुग्दैन। सरोकारवाला सुन्दैनन्।'