बागलुङ र पूर्वी रुकुमको सिमा विवाद सुल्झीदै

बागलुङ जिल्ला र पूर्वी रुकुमको सीमा विवाद सुल्झाउने प्रयास थालिएको छ। बागलुङको निसीखोला गाउँपालिका र पूर्वी रुकुमको भुमे गाउँपालिकाको सीमामा वर्षौदेखि विवाद छ। 

भुमे गाउँपालिकाले २०७४ सालमा बागलुङको भु–भागमा आएर प्रवेशद्वार निर्माण गर्न थालेपछि विवाद झनै बढेपछि अहिले दुई जिल्लाका सरोकारवाला निकाय सीमा विवाद सुल्झाउने प्रयासमा लागि परेका छन्।

केही दिनअघि भएको सरोकारवालाबीचको बैठकले यही चैत महिनाभित्रै अध्ययन प्रतिवेदन तयार गर्ने र प्रतिवेदनका आधारमा सीमा विवाद टुङ्ग्याउने सहमति भएको बागलुङका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जानकारी दिए। 

निसीखोला गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलले मध्यपहाडी लोकमार्गले जोडिएका दुई जिल्लाको सिमानामा भौतिक संरचना निर्माण हुन थालेपछि विवाद उत्पन्न भएको र यसलाई दुवै स्थानीय तहले सुल्झाउने गरी दुवै जिल्लाका सरोकारवालाबीच सहमति भएको बताए। 

बागलुङको भु–भागमा पर्ने रिग ताल, पातीहाल्नेलगायत विभिन्न स्थानमा रुकुम पूर्वले दाबी गर्दै आएको छ। यसका लागि पटक–पटक विवाद समाधान गर्न खोजे पनि टुङ्गोमा पुग्न सकिएको थिएन।। रासस

प्रकाशित मिति: : 2021-03-02 06:29:00

प्रतिकृया दिनुहोस्