म्यान्मारः सैन्य 'कू'विरूद्धको आन्दोलनमा अन्धाधुन्ध आक्रमण, प्रहरीको गोलीले २४ जनाको मृत्यु

Photo - RFA Burmese
Photo - RFA Burmese

म्यान्मारमा जारी सैन्य 'कू'विरूद्धको नागरिक आन्दोलनमा सुरक्षाकर्मीको गोली लागेर कम्तीमा २४ जनाको मृत्यु भएको छ। 

आन्दोलनले उग्ररुप लिएपछि प्रदर्शनकारीमाथि सुरक्षाकर्मीले अन्धाधुन्ध गोली चलाएको थियो। संयुक्त राष्ट्र संघको मानवअधिकार कार्यालयले सैन्य 'कू'को विरोधमा सडक आन्दोलन गरिरहेका निर्दोष नागरिक लक्षित गोली प्रहारप्रति कडा आपत्ती जनाएको छ। 

रंगुन, दवेई, माण्ड र नेपिटोलगायतका शहरमा प्रहरीले गोली र अश्रु ग्याँस प्रहार गरेको थियो। 

सुरक्षाकर्मीको गोली लागेर २४ जना प्रदर्शनकारीले ज्यान गुमाए भने क्रममा कम्तीमा २० जना घाइते भएका छन्। जुन्ता सरकारको मुखपत्र एमआरटीभीले देशभरबाट ४ सय ४९ आन्दोलनकारी पक्राउ परेको समेत बताएको छ।

अघिल्लो हप्ताको तुलनामा यसपटक विरोध प्रदर्शनमा एकल गिरफ्तार पर्नेको संख्या सबैभन्दा बढी छ। म्यानमारमा सैन्य शासकविरूद्ध सडक आन्दोलन सुरु भएको तीन हप्ता पुगिसकेको छ। 

प्रजातान्त्रिक तवरले चुनिएका नेताहरू सेनाले हिरासतमा लिएपछि सैन्य तानाशाहीको निन्दा गर्न मानिस सडकमा उत्रने क्रम अझैपनि जारी छ। उनीहरूले प्रजातन्त्रवादी नेत्री आङ सान सु कीलगायतको रिहाई माग गर्दै जनप्रदर्शन गरिरहेका छन्।

नेपिटो र माण्डलेमा सुरक्षाकर्मीको गोली लागेर केहीले ज्यान समेत गुमाएका छन्। प्रहरीले प्रदर्शनकारीमाथि चरम दमन गर्न गर्दापनि म्यान्माली जनताको सडक सहभागिता उतिकै देखिन्छ। 

शनिबार सैन्य 'कू'विरूद्धको आन्दोलन विगतका दिनहरूभन्दा बढी नै हिंसात्मक बनेको छ। देशको उत्तरी राज्य कचिनमा बौद्ध विहारमा भेला भएका आन्दोलनकारीलाई प्रहरीले तितरबितर पार्न शक्ति प्रयोग गरेको थियो। स्थिति हिंसात्मक भएपछि बन्दुक चलाएको स्थानीयले दाबी गरेका छन्। 



राष्ट्र संघका लागि म्यान्मारका राजदूत तुन सैन्य 'कू'को विपक्षमा उभिए

संयुक्त राष्ट्र संघका लागि म्यानमारका राजदूत क्या मो तुनले महासभामा देशमा जारी सैन्य 'कू' (जुन्ता सरकारको)को निन्दा गरेका छन्। उनले म्यान्मारमा प्रजातन्त्रको समर्थनमा संघर्ष गर्ने चेतावनी दिए। 

राजदूत तुनले म्यान्मारमा प्रजातन्त्र बहाल गर्न अन्तर्राष्ट्रिय समुदायको सहयोग समेत मागेका छन्। संयुक्त राष्ट्र संघको महासभामा सैन्य शासकको विरोधमा उत्रिएका उनलाई लाखौं मानिसले सडक र सामाजिक सञ्जालमार्फत् स्वागत तथा समर्थन गरेका छन्।

महासभामा बोल्दै तुनले जनताका लागि सरकार बनाउने प्रजातन्त्रवादीहरूको पक्षमा बोल्न विश्वभरका प्रजातान्त्रिक राष्ट्रहरूमा आग्रह गरे। उनले प्रजातान्त्रिक तवरले निर्वाचित सरकारको पुनःस्थापनाको माग समेत गरेका छन्।

म्यान्मारका मानवअधिकारकर्मीहरूले संयुक्त राष्ट्र संघको इतिहासमा कुनैपनि देशका प्रतिनिधि शासकविरूद्ध उभिएको दृश्य नौलौ भएको दाबी गरेका छन्।

महासभामा उपस्थित सबैले तुनको पक्षमा बोल्दै अपदस्थ नेत्री आङ सान सु कीलगायत सबै नेताहरुलाई बिना–सर्त रिहा गर्न र लोकतान्त्रिक सरकार गठन गर्न जुन्ता सरकारलाई पटकपटक आग्रह गरे। उनले म्यान्मारका आन्दोलनकारीको प्रतिक मानिने तीन औँलाको सलामलाई पनि दोहराएका छन्।

सयुंक्त राष्ट्र संघका महासचिव एंटोनियो गुटेरेसका प्रवक्ता स्टीफन दुजारिकले तुन र म्यान्मारको अपदस्त लोकतान्त्रिक सरकारलाई पूर्ण समर्थन रहेको बताएका छन्। आफ्नो विचार ब्यक्त गर्दा जेल जानुपर्ने नियम मान्य नहुने बताउँदै प्रवक्ता दुजारिकले भने, 'अभिव्यक्ति स्वतन्त्रता को रक्षा गर्न सम्पूर्ण विश्वले आवाज उठाउनुपर्छ।'

संयुक्त राष्ट्र संघमा तुनले उठाएको आवाजले म्यान्मारमा जारी नागरिक आन्दोलनमा भाग लिएकाहरूलाई थप उत्साहित बनाएको छ। प्रदर्शनकारीहरूले राजदूतलाई जनताको आवाज उठाएकोमा धन्यवाद समेत दिएका छन्।



Photo - Myanmar Nowम्यान्मारमा सेनाविरूद्धको आन्दोलनमा पहिलो शहिद बनेकी खिन

सैन्य ‘कू’ विरूद्धको नागरिक आन्दोलनमा प्रहरीको गोलीबाट गम्भीर घाइते भएकी म्या थावे थावे खिनको एक सातापछि शुक्रबार निधन भएको छ।

उनलाई प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेको थियो। भर्खरै २० वर्षमा प्रवेश गरेकी खिनको अन्तिम श्रद्धाञ्जली आइतबार हुनेछ। ‘प्रजातन्त्र पुनस्र्थापना गर्ने अभियान सफल नभएसम्म यसलाई निरन्तरता दिन आब्हान गर्दछु,’ खिनकी दिदी म्या थादोई न्वेले प्रतिक्रिया दिइन।

फेब्रुअरी ९ मा सड्कमा निस्किएको हजारौंको जुलुसमा खिन पनि सहभागी भएकी छिन्। भिडलाई तित्तरबित्तर बनाउने अभियानमा प्रहरीले गोली चलाउदा उनको टाउकोमो रहेको हेलमेटलाई छेडेर गोली लागेको थियो। 

फोरेन्सिक चिकित्सकले बुझाएको अटोप्सी रिपोर्टमा उनलाई रबरको नभई साँचो गोली लागेको बताइएको छ। उनी सैन्य सरकारविरूद्धको आन्दोलनमा शहिद हुने पहिलो नागरिक बनेकी छिन्।

प्रकाशित मिति: : 2021-02-28 21:03:00

प्रतिकृया दिनुहोस्