मोरङको केराबारी गाउँपालिका–७ चौबिसे टोलमा मध्यरातमा महिलालाई नशालु पदार्थ सुँघाएर बेहोस बनाएर लुटपाट गरिएको छ ।
घरधनी गणेशबहादुर विक काम विशेषले घर बाहिर निश्किएको मौका छोपी नाबालक छोराछोरीका साथमा बस्दै आएकी उर्मिला विकलाई बेहोस बनाई लुटपाट गरेको हो।
मध्यरातमा भैसीको पाडो फुस्केको आवाज सुनेर घर बाहिर निश्केकी उर्मिलालाई दुई नकावधारी युवाले नियन्त्रणमा लिएर नशालु पदार्थ सुघाउँदै बेहोस बनाएका थिए।
सोही क्रममा घरभित्र पसी लुटपाट मच्चाएको वडाध्यक्ष नारायणप्रसाद चेम्जोङ लिम्बूले बताए।
उर्मिलाका साथमा ११ र १३ वर्षका दुइ छोराछोरी मात्र रहेको बेला ढोकाबाट बाहिर निस्कन नपाउँदै मास्क लगाएर आएका अपरिचित दुर्इ युवाले बेहोस बनाएको चेम्जोङले बताए।
लुटपाटमा संलग्नले घरभित्र रहेको ४० हजार रुपैयाँ नगद र एक तोलाको सुनको सिक्री लुटेर लगेको बताइएको छ।
‘मध्यरातमा घरको ढोकाबाट बाहिर निस्कन खोज्दा घाँटीमा समाउँदै नशालु पदार्थ सुँघाएपछि महिला बेहोस भएकी थिइन। त्यसपछि दुई जना घरभित्र पसेर नगद र सुनको सिक्री लिएर फरार भए’ मोरङका एसपी सन्तोष खड्काले भने।
शनिबार बिहानसम्म सामान्य अवस्थामा रहेर प्रहरीलाई घटनाका बारेमा जानकारी दिएकी उर्मिला शनिबार दिउँसोबाट पुनः बेहोस भएकी छन्। उनले आफू होसमा आउँदा घरभित्र रहेको नगद र सुनको सिक्री लुटिएको प्रहरीलाई बताएकी थिइन्।
पुनः बेहोस बनेपछि स्थानीय स्वास्थ्य संस्थाले उपचार सम्भव नहुने जानकारी दिएर उनलाई थप उपचारका लागि सुविधा सम्पन्न अस्पतालमा रेफर गरेको जानकारी वडा अध्यक्ष लिम्बूले दिए।
महिलामाथि कुनै कुटपिट र आक्रमण भने नभएको एसपी खड्काको भनाइ छ।
घटनामा संलग्नका बारेमा पहिचान नभएको बताउदैँ उक्त घटना बारेअनुसन्धान थालेको उनले बताए।