काठमाडौंको चन्द्रागिरी नगरपालिकाकी १६ वर्षीया किशोरीको दुई वर्षअघि टिकटकमार्फत महेश नामको युवकसँग चिनाजानी भयो । उनीहरू टिकटकबाट फेसबुक, मेसेन्जर र ह्वाट्सएपमा पनि जोडिए । उनीहरूको सम्पर्क बाक्लिँदै गयो । सम्बन्ध प्रेममा बद्लियो । विवाह गर्नेसम्मको कुराकानी उनीहरूबीच चल्यो ।
गत ९ मंसिरमा किशोरीले घर छाडिन् । भोलिपल्ट अभिभावकले प्रहरीमा उजुरी दिए । त्यसको चार दिनपछि खोजतलास गर्दै जाँदा उनी भारतको मध्यप्रदेश राज्यको इन्दौरमा फेला परिन् । नेपाल प्रहरी र आफन्त नेपालले उनको फोन ट्र्याकिङ गरेर महेशको नम्बर पत्ता लगाए । दिल्ली प्रहरीको सहयोगमा मध्यप्रदेशको बालकल्याण समितिले महेशसँग सोधपुछ गरेपछि थाहा भयो कि किशोरी एउटी महिलासँग भोपाल पुग्दैछिन् । पछि उनलाई त्यहाँबाट उद्धार गरियो ।
एक वर्षअघि ललितपुर महानगरपालिकाकी १४ वर्षीया किशोरीको फेसबुकमा एक युवकको फ्रेन्ड रिक्वेस्ट आयो । उनले स्विकार्न पनि ढिला गरिनन् । युवक विराटनगरका रहेछन् । बिस्तारै कुराकानी हुन थाल्यो । ‘भर्चुअल’ दुनियाँबाट नजिकिएका उनीहरू दैनिक घन्टौँसम्म सामाजिक सञ्जालमै हराउन थाले । कोरोनाका कारण लकडाउन भएपछि उनीहरूले त्यहाँ धेरै समय बिताए । यतिसम्म कि बिहे गर्नेसम्मका योजना उनीहरूले बनाए । एक दिन अचानक युवकले नग्न तस्बिर पठाए । र, किशोरीलाई पनि त्यस्तै पठाउन भने । सुरुमा ती किशोरीले पठाउन मानिनन् । तर, युवकले दबाब दिए, ‘मायामा विश्वास नगरेको’ भनेर घुर्की देखाए ।
किशोरीले सोचिन् आखिर बिहे नै उसैसँग गर्ने हो भने के फरक पर्छ र ? उनीहरूबीच सामाजिक सञ्जालमा थरीथरीका फोटो भिडियो सेयर हुन थाले । सुरुमा युवकले भनेका सबै कुरा मान्दै गइन् किशोरीले । तर, जब आजित हुन लागिन्, तब उनीहरूको सम्बन्धमा खटपट हुन थाल्यो । त्यसपछि ती युवकको प्रेम अपराधमा बद्लियो । उनले फेरि त्यस्तै भिडियो कल नगरे पहिलेका भिडियो अपलोड गरिदिने धम्की दिए । ती युवकको बारम्बारको धम्की सहन नसकेर अन्ततः ती बालिकाले आत्महत्याको बाटो रोजिन् । घटनापछि पीडितका बाबुआमाले प्रहरीलाई जानकारी दिए, तर पीडकविरुद्ध उजुरी गरेनन् ।