चौथो ‘नेपाल–बङ्गलादेश युवा सम्मेलन’ आजदेखि काठमाडौँमा शुरु भएको छ।
कोभिड–१९ का कारण प्रभावित हुँदै आएको सम्मेलन रोगको सङ्क्रमण घटेसँगै आयोजना गरिएको कार्यक्रम संयोजक अभिनव चौधरीले जानकारी दिए। दुईदिने सम्मेलनको आज भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले उद्घाटन गरिन्।
उक्त समारोहमा मन्त्री तुम्बाहाङ्फेले यसरी दुई मुलुकका युवाबीच अनुभव आदान–प्रदान हुँदा आपसी सम्बन्ध विस्तार, संस्कृति हस्तान्तरण र विकास साझेदारमा टेवा पुग्ने बताईन्।
आर्थिक समृद्धि र विकासका निम्ति युवाको भूमिका अहम हुने र त्यस्ता अनुभवी युवाले मुलुकको प्रतिनिधित्वसमेत गर्न सक्ने भएकाले पनि विश्वको अनुभव युवाले सिक्नु जरुरी रहेको उनले औँल्याईन्।
मुलुकलाई प्रगतिउन्मुख गराउन यस्ताखाले कार्यक्रमले टेवा पुग्ने हुँदा कार्यक्रमले निरन्तरता पाउनुपर्नेमा उनको जोड थियो। उनले नेपालको संविधान र कानुनमा नै युवाको भूमिकालाई व्यवस्थित गरिएको र युवालाई अघि बढाउन छुट्टै मन्त्रालयसमेत गठन गरिएको जानकारी दिईन्।
उनले देश–देशबीच व्यापारिक सम्बन्ध गाँस्न पनि युवाको भुमिका ठुलो हुने बताईन्।रासस