मुना चौधरी
सन्ध्यालाई चिर्ने तागत अस्ताउँदै गरेको सूर्यमा हुँदैन, किनकि सन्ध्यालाई पूर्ण रूपमा जूनले ताराहरूका लागि रात लिलामी गरिसकेको हुन्छ । जूनले लिलामी गरेको रात जतिसुकै सुमधुर भए पनि आफ्नो प्रेयसीको काखमा टाउको राखेर सपना देख्न नपाउँदा त्यो रात खल्लो नै हुन्छ । आफ्नो प्रेमीको आँखामा आँखा राखेर खुलेआम सपनाको संसार सजाउन नसकेका प्रेयसीको मनमा धेरै तागत र ऊर्जा हुन्छ । प्रेयसीको मनभित्रको तागतलाई कुनै अनकन्टारबाट बौरिएर बहने हुरीले पनि उडाउन सक्दैन ।
अचानक ! समयले यहीँ पूर्णविराम लगाएको भए ? अचानक ! समय रातझैं गहिरो निद्रामा सुतेको भए ? अचानक ! मेरो उमेर त्यही यौवनले भरिएको उमेरमा टक्क रोकिएको भए ?
कसरी मैले आफ्नो उमेरलाई फर्काएर ल्याऊँ ? म कल्पिन्छु त्यो कलकलाउँदो बैँसका लागि । त्यो उमेरमा म कसैको सुन्दिनथेँ । मेरो आफ्नै वेग थियो । आफ्नै लहर थियो । तर मलाई थाहा छ जति कल्पे पनि मेरो बैँस कहिल्यै फिर्ता आउँदैन ।
चिच्याउन मन लाग्छ । मान्छे किन आफ्नो इच्छाअनुसार बाँच्न सक्दैनन् ? म अझैँ बाँच्न चाहन्छु । उनकै उमेरमा फर्किन चाहन्छु तर के उनको उमेरमा फर्किन सम्भव छ र ? अहँ ! म उनको उमेरमा फर्किन सक्दिनँ । तर जति समय मेरो भागमा छ त्यो समय म खुलेर बाँच्न चाहन्छु । उनीसँग हरेक पल खुसीले बिताउन चाहन्छु ।