गिठ्ठा-भ्याकुरदेखि लसुनका पातसम्म विदेशकै भर, तरकारी किन्न बाहिरियो साढे २२ अर्ब

शिलापत्र

काठमाडौँ

भागवत भट्टराई

पछिल्लो सात महिनामा तरकारी किन्‍‍नका लागि नेपालबाट करिब साढे २२ अर्ब रुपैयाँ विदेशमा गएको छ । हरियो साग-सब्जीदेखि 'फ्रोजन' गरिएको आलु र कन्दमूल भारत, युरोप, अमेरिकालगायतका विश्‍वका ३६ देशबाट आएका तरकारी नेपाली उपभोक्ताले खाएका छन् । गिठ्ठा-भ्याकुरदेखि लसुनका पातसम्मका लागि पनि नेपालको कृषिबजार विदेशकै भर पर्नुपरेको छ ।

सात महिनामा ५२ करोड २६ लाख किलो तरकारी विदेशबाट आयात गर्दा सरकारी कोषमा दुई अर्ब ३८ करोड रुपैयाँको राजस्व जम्मा भएको छ ।

भन्सार विभागको तथ्यांकअनुसार चालू वर्षको सात महिनामा आयात भएको तरकारीमा सबैभन्दा बढी गेडागुडी तथा दलहन रहेको छ । माघसम्ममा १२ अर्ब रुपैयाँको दाल मात्रै भित्रिएको छ ।

१४ किसिमका तरकारी आयात हुँदा आलु मात्रै करिब ६ अर्ब रुपैयाँको आयात भएको छ । जसमा ९७ करोड रुपैयाँको प्रशोधित आलु आयात भएको छ भने ताजा तथा विऊ आलु पाँच अर्ब १३ करोड रुपैयाँको छ ।

२७ करोड रुपैयाँको टमाटर आयात भएको छ । दुई अर्ब रुपैयाँको लसुन तथा प्याज र त्यसका पात आयात भएका छन् । पाँच करोडको फूलगोभी (काउली) आयात हुँदा १८ लाखको गाजर तथा सालाद भित्रिएको छ ।

प्रकाशित मिति: : 2021-02-25 21:29:00

प्रतिकृया दिनुहोस्