'महासङ्घमा सबै सङ्गठनलाई मिलाएर लैजाने'

Karobar Daily

नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देलले नेपाल पत्रकार महासङ्घको आगामी निर्वाचनमा सबै सङ्गठनलाई मिलाएर लैजाने बताएका छन्।

नेपाल पत्रकार महासङ्घको आसन्न निर्वाचनका सन्दर्भमा नेपाल प्रेस युनियन कास्कीद्वारा आज पोखरामा आयोजित छलफलमा उनले महासङ्घलाई सबै पत्रकारको साझा संस्था बनाउने गरी युनियनले नेतृत्व लिने बताए। 

नेकपा निकट पत्रकारका दुवै सङ्गठनले सहकार्यका लागि युनियनसँग छुट्टाछुट्टै प्रस्ताव गरेको भए पनि युनियनको भूमिका सबै पत्रकारलाई मिलाएर लैजाने पक्षमा रहेको र आगामी परिस्थितिअनुसार निर्णय लिइने उल्लेख गरे। 

नेपाल पत्रकार महासङ्घका पूर्वकेन्द्रीय उपाध्यक्ष एवम् न्यूनतम पारिश्रमिक निर्धारण समितिका पूर्वअध्यक्ष गङ्गाधर पराजुलीले व्यावसायिक पत्रकारिताको विकासमा लाग्न सक्ने किसिमको महासङ्घको नेतृत्व चयन हुनुपर्ने आवश्यकता औँल्याए। 

युनियनका उपाध्यक्ष रमेश पौडेलले सङ्गठनप्रति बफादारसँगै क्रियाशील पत्रकारलाई महासङ्घमा प्रतिनिधित्व गराउनुपर्नेमा जोड दिए। 

युनियनका महासचिव अजयबाबु शिवाकोटीले महासङ्घमा कसैबाट लिने गरी नभई आफूहरूले दिने गरी अन्य सङ्गठनसँग सहकार्य गर्न सकिने बताए भने कोषाध्यक्ष सरोज अधिकारीले न्याय र विवेक प्रयोग गरी उम्मेदवार छनोट गर्न नेतृत्वलाई आग्रह गरे। 

नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देल, केन्द्रीय सदस्य सरिता तिमिल्सिना पँगेनी, दिलीप पौडेल, टङ्कराज अधिकारी, युनियन कास्कीका सल्ल्लाकारहरू रवीन्द्र बास्तोला, शिरोमणि बराल, तारा पाखेलगायतले युनियनलाई एकताबद्ध बनाएर लैजान नेतृत्वलाई सुझाव दिए। रासस 

प्रकाशित मिति: : 2021-02-21 22:08:00

प्रतिकृया दिनुहोस्