गृहमन्त्रीले भनेझैं निर्मलाका हत्यारानजिक प्रहरी पुगेको हो ?

बाह्रखरी

काठमाडाैं

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले शनिबार विराटनगरमा आयोजित एक कार्यक्रममा निर्मला पन्तका हत्यारा पनि छिट्टै पक्राउ गर्ने बताए।

यति मात्रै होइन उनले हत्याराका नजिक पुगिसकेको र अभियुक्तलाई छिट्टै कानुनको कठघरमा उभ्याउने बताए। उनले निर्मलाका बलात्कारी र हत्यारा कानुनको पञ्जानजिक पुगेको दाबी गरे।

गृहमन्त्रीको यो अभिव्यक्तिपछि निर्मला हत्याकाण्डबारे फेरि चर्चा भएको छ। तर उनले दाबी गरेजस्तै प्रहरी भने हत्याराको नजिक पुगिनसकेको र अनुसन्धान जारी रहेको अधिकारीहरुको दाबी छ।

उच्च प्रहरी अधिकारीहरु भन्छन्, 'नयाँ क्लु पाइएको छैन। अनुसन्धान भने जारी राखेका छौं। तर गृहमन्त्रीज्यूले भनेजस्तो अपराधी पुगिएको छैन। नयाँ तथ्य प्रमाण जुटाउन सकिएको छैन्। गृहमन्त्रीले अनुसन्धानबारे बोल्दा सचेत हुनुपर्ने हो।'

निर्मला हत्याकाण्डको अनुसन्धानमा केन्द्रीय अनुसन्धान ब्युरो, जिल्ला प्रहरी कार्यालय र प्रदेश प्रहरी कार्यालयको टोली सक्रिय छ।

नेपाल प्रहरी सबैभन्दा विवादित बनेको पछिल्लो समयको सबैभन्दा चर्चित घटना निर्मला हत्याकाण्ड नै हो। ०७५ साउन १० गते कञ्चनपुरको भीमदत्तनगर २ कि १३ वर्षीया किशोरी निर्मला पन्त ‘नोट’ लिन साथीको घर गएकी थिइन्।

साँझसम्म घर नफर्किएकी निर्मला साउन ११ गते घरभन्दा झन्डै डेढ किलोमिटरको दुरीमा रहेको उखुबारीमा मृत फेला परेकी थिइन्।

अनुसन्धान र मेडिकल रिपोर्टबाट उनको बलात्कारपछि हत्या भएको खुलेको थियो। तर साढे दुई वर्ष बितिसक्दा पनि घटनामा कसको संलग्नता थियो भन्ने खुल्न सकेको छैन। प्रहरीले ०७५ भदौ ४ मा भीमदत्तनगर १९ बाँगफाटाका ३९ वर्षीय दिलिपसिंह विष्टलाई मुख्य अभियुक्तको रुपमा सार्वजनिक गरेको थियो।

प्रकाशित मिति: : 2021-02-21 14:55:00

प्रतिकृया दिनुहोस्