भिडियो गेमको पात्र र त्यसको रोमान्चकलाई सिनेमामा उतार्नु फलामको चिउरा चपाउनु जतिकै कठिन कार्य हो। तर ‘पोकेम्यान’को सफलताबाट लोभिएर धेरैले यस्ता चरित्रको आधारमा सिनेमा बनाउने कोशिस गरेका छन्।
भिडियो गेमको पात्रलाई सिनेमामा उतार्नु र सुरुदेखि अन्तसम्म दर्शकहरुलाई जोडेर राख्नु फरक कुरा हो भन्ने थाहा नपाएर हो वा पाएर पनि प्रयास गर्नाले नतिजा राम्रो निस्कन सक्दैन।
पल डब्लु एस एन्डरसनद्वारा लिखित र निर्देशित ‘मनस्टर हन्टर’ यस्तै सिनेमा हो।
करिब छ सय मिलियन डलरको लागतमा निर्माण भएको यो सिनेमामा भब्य सेट र खर्चिलो एनिमेसन छ तर दर्शकलाई बाँधेर राख्न सक्ने खुवी छैन।
जसको सुरुवात कताबाट हुन्छ र अन्त कताबाट हुन्छ त्यो पुरै सिनेमा हेर्दा पनि पत्ता लगाउन सकिन्न।
भिडियो गेमको पात्रमा आधारित पहिलो र सुपरहिट सिनेमा ‘प्रिन्स अफ पर्सिया’देखि हालको ‘मनस्टर हन्टर’सम्मलाई हेर्ने हो भने कुनै पनि सिनेमामा भिडियो गेमको जस्तो रोमान्चकता छैन। यो सिनेमा मा कहालीलाग्दो एक्सन दृश्य नभएको होइन तर भिडियो गेम खेल्न अभ्यस्त हालको पुस्तालाई आकर्षित गर्न सक्ने खुवी यो सिनेमामा छैन।
सिनेमाको सुरुवात मरुभूमीमाथि उडिरहेको हवाई जहाजबाट हुन्छ। जसमा एउटा विशाल छाँयाले हमला गर्छ।
जमिनमा सयुंक्त राष्ट्रसंघको सुरक्षाकर्मीको समूह कतै गइरहेको हुन्छ। एकआपसमा कुरा गर्दै गइरहेको बेलामा अर्को समूहले मद्दत माग्छ र उनीहरु मद्दत गर्न त्यहाँ पुग्छन्।
तर, उनीहरु नै समस्यामा पर्न जान्छ। त्यसपछि थाहा हुन्छ कि यो अर्कै संसार हो र यो निकै विशाल छ। यहाँ विशाल जीवजन्तुहरु छन् र यिनीहरुको पछाडि शिकारीहरु लागेका छन्।
शिकारीले यहाँ राक्षसहरु आउने कारण सुरक्षाकर्मीहरुलाई फर्किन अनुरोध गर्छन्। यसैबीच राक्षसहरुले सुरक्षाकर्मीमाथि हमला गर्छन् र केवल नायिका (मिला जोभोभिच)बाहेक सबैको मृत्यु हुन्छ।
शिकारी नायक (टोनी जा) हुन्छ। नायिका र नायकको भेट हुन्छ। यिनीहरु बीच हिन्दी सिनेमामा जस्तो पहिले झगडा हुन्छ, पछि प्रेम हुन जान्छ।
त्यसपछि दुवै मिलेर राक्षसहरुसँग युद्ध गर्छन्। राक्षससँग विजय प्राप्त गरेपछि नायिकालाई पनि पृथ्वीमा बस्न मन लाग्दैन र अर्कै संसारतर्फ जाने विचार आउँछ।
त्यसपछि के–कस्ता घटनाहरु घट्छन र नायिका अर्को संसारमा जान सफल हुन्छिन्। यो नै सिनेमाको मुल कथा हो र यसमा धेरै उप कथाहरु पनि रहेका छन्।
जो दर्शक भिडियो गेम खेल्न अभ्यस्त छ उसलाई यो सिनेमा हेर्न रमाइलो हुन्छ तर पंक्तिकार जस्तो खासै भिडियो गेम नखेल्ने र त्यसका पात्र र कथाको बिषयमा कुनै जानकारी नभएको दर्शकहरुको लागि भने यो सिनेमा खुर्पा हो कि श्रीखन्ड छुट्टाउन अफ्ठ्यारो छ।
त्यसमा भाषाको समस्या र परिबेशसँग तालमेल मिलाउन नसक्दा सिनेमा ‘छेउ न टुप्पा’को जस्तो लाग्छ। पंक्तिकार जस्तो दर्शकको लागि भने यो सिनेमा केवल कम्प्युटर ग्राफिकको चमत्कार हेर्न मात्र ठिक छ।
मार्टल कम्ब्याट (१९९५) र रेजिडेण्ट एबिल (२००२) जस्ता सुपर हिट सिनेमाका निर्देशक एन्डरसनले यस्तो अर्थ न व्यर्थको सिनेमा किन निर्माण गरे त्यो भने बुझ सकिएन वा पंक्तिकारको सानो मस्तिष्कले सिनेमाको गुढ कुरा बुझ नसकेको पनि हुन सक्छ।
भिडियो गेमहरुमा अत्यन्तै लोकप्रिय मनस्टर हन्टरको पात्रको आधारमा सिनेमा निर्माण गर्दा पक्कै पनि होमवर्क भयो होला। तर ठाउँ–ठाउँमा जर्क आएको छ र यो जर्क ले कथा सलल अगाडी बढ्न सकेको छैन।
अर्को ठूलो गल्ति भनेको भिडियो गेममा नायिकाको चरित्र छैन तर सिनेमामा अचानक नायिका देख्दा अच्चममा परिन्छ।
आफैले पटकथा लेखेको भएपनि निर्देशक एन्डरसनले यस्तो गम्भीर गल्ती किन गरे यो भने बुझ सकिएन।
सिनेमामा नायक टोनी जालाई भन्दा नायिका मिला जोभोभिचलाई बढी प्रमुखता दिएको भान हुन्छ, सायद नायिका निर्देशको श्रीमती भएर पनि हुनसक्छ।
अन्य सहायक कलाकार हरु रोन पर्लम्यान (एडमिरल), मेगन गुड (डास), निक रेसेण्टि (क्याप्टेन रोरर्क) आदी सामान्य छन्।
क्यारिस ब्राउनको स्पेसल इफेक्ट र डेरमट ब्राउनको कहालीलाग्दो स्टन्टको साथै अन्य प्राविधिक पक्षहरु सामान्य छ।
पंक्तिकारको बिचारमा ग्राफिक्स र एक्सन बाहेक यो सिनेमामा हेर्न लायक केही छैन। यो सिनेमा हेर्नु भनेको समय र पैसाको बर्बादी मात्र हो।