माझफाल, डोल्पामा जन्मिएका प्रेमबहादुर बोहराको पहिलो कृति 'कोग्ले' बजारमा आएको छ। भोकमरी, गरिबी, अभाव, महामारीबाहेक देशको बहसमा स्थान नपाएको कर्णाली र त्यसमाथि पनि किनारामै रहेको डोल्पाली युवाको उक्त पुस्तक प्रशासनले नयाँ तरंग उत्पन्न गरेको छ।
१५ वर्षअघि काठमाडौंमा उच्च शिक्षा पढ्न गएका लेखकको लागि डोल्पाभन्दा सहर आकर्षणको विषय थियो। सहरबाट सिक्न सकिने कुराले उनलाई अझै पनि आकर्षण गर्छ तर त्योभन्दा अझ बढी गाउँको लोभ मान्ने उनले गाउँमै प्रचलित शब्दबाट नै पुस्तकको न्वारान गरे।
भलै कोग्ले लेखकको गाउँको लागि इज्जतदार बन्न नसकेको शब्द हो। अझ बढी बेइज्जतको प्रतिक हो। यही शब्दले नै लेखकको बाल्यकाल र गाउँ समेटेको छ।
पञ्चायतको अन्त्यसँगै बहुदलीय व्यवस्था देशमा लागू भएको समयमा जन्मिएको एउटा बच्चा हुर्कंदै जनयुद्ध, जनआन्दोलन र लोकतान्त्रिक गणतन्त्रसम्मको अवस्थामा पुग्दा ऊ युवावस्थामा पुग्छ। टेलिफोनसमेत नभएको बेला जन्मिएको युवाले इन्टरनेटको उपभोगसम्म आइपुग्दाको डोल्पाको चित्र पुस्तकमा उतारिएको छ। प्रविधि र पूर्वाधारमा समयक्रमले केही परिवर्तन ल्याए पनि आमजनजीवनमा शिक्षा, स्वास्थ्य, सामाजिक न्याय, आर्थिक तथा वातावरणीय समस्या र सम्भावना यथावतै छन्।
राजधानीमा बस्नेले दूरबिनबाट हेर्दा कहिले समस्याले ग्रस्त डोल्पा देख्छन् त कहिले रमणीय डोल्पा। डोल्पामा जन्मिएको एउटा बालक युवा हुँदासम्म एउटा जीवन रमाइ, भोगाइ, सिकाइ अर्थात् एक युवाको सिंगो जीवनका धेरै आयाम भेट्न सकिने ‘कोग्ले’का लेखक बोहोरासँग बिएल नेपाली सेवाका लागि महेश नेपालीले लिएको अन्तर्वार्ताको सारसंक्षेप।
पुस्तकको नाम 'कोग्ले' नै किन राख्नुभो ?
बाहिरी संसारमा डोल्पा वा कर्णालीको हरेक विषय कि जटिलता र रोमाञ्चकता कथा सुनिन्छन्। त्यसैले पनि अरुको नजरमा कर्णाली एक चासोको विषय हो। यी दुवै अर्थात् जटिलता र रोमाञ्चकताले नै कर्णालीको जीवन त्यहीकै जस्तो बनाएको छ।
यी कुराहरुमा आफैँ र अरुको बुझाइमा भएका केही भ्रमहरु तोड्ने र स्थानीय सन्दर्भ देखाउने कोशिश हो– कोग्ले।
कोग्ले मेरो र मेरो गाउँको चिनारी हो। गालीको रुपमा प्रयोग गरिँदा रिस उठ्थ्यो पहिला। अहिले रमाइलो लाग्छ।
कोग्लेले बाल्यकाल खोसेको सन्दर्भमा केही बताइदिनुहुन्छ कि ?
कोग्ले शब्दले के कसरी मेरो र सिंगो गाउँको विगतमा के प्रभाव पारेको छ भनेर बुझ्न त किताब नै पढ्नुपर्ला। छोटोमा भन्दा, कोग्ले अर्थात् कोग्लो खाने मान्छे भनिँदा साह्रै निरीह अनुभूति हुन्थ्यो। यो एउटा मकैको खानाको परिकार हो जुन स्वस्थबर्द्धक छ।
जुन चिजले जीवननिर्वाह गराएको छ, जुन पौष्टिक आधारमा पनि महत्वपूर्ण छ, त्यही खाना हेपिएको सुन्दा जो कसैलाई हाँसो लाग्ने कुरा हो। आफ्नो पहिचान आत्मसात गर्न यो पुस्तकले त्यो बुझाउने छ भन्ने विश्वास छ।
लेख्ने प्रेरणा कसरी जाग्यो ?
पहिलो कुरा त कर्णालीको बारेमा धेरै लेखिएकै छैन। जति लेखिएका छन्, तीमध्ये धेरैजसो महत्वपूर्ण हुँदाहुँदै पनि बाहिरी दृष्टिकोणबाट लेखिएका छन्। डोल्पामै जन्मी हुर्किएको मान्छेको कथा बाहिर ल्याउँदा केही फरक दृष्टिकोण अर्थात् स्थानीय दृष्टिकोण आउन सक्छ भन्ने सोँचेर लेख्न थालेँ।
विमोचन कार्यक्रममा कोग्ले पढ्नैपर्ने पुस्तक अझ त्यसमा पनि पाठ्यपुस्तकमा समावेश गर्नुपर्ने कुरा उठ्यो। पाठ्यक्रममा समावेश गर्ने कस्ता विषय वस्तु छन् पुस्तकमा ?
कोग्ले पुस्तक पाठ्यपुस्तक वा अन्य कतै समावेश गरियोस् वा गरिन सक्छ भनेर लेखिएको पक्कै होइन। विमोचन कार्यक्रममा बोल्दै गर्दा राधा पौडेलले (जो अभियन्ता हुनुहुन्छ र मदन पुरस्कार विजेता पुस्तकको लेखक पनि) सो धारणा राख्नुभएको हो। उहाँले यतिसम्म महत्वपूर्ण छ है भन्न खोज्नुभएको हो जस्तो लाग्छ।
कर्णालीका बढीभन्दा बढी पाठकसमक्ष पुस्तक पुर्याउने उपाय केही सोच्नुभएको छ ?
केही समयपछि विभिन्न जिल्लामा पुस्तक यात्रा गर्ने सोच बनाएका छौँ। अहिले भने हामी (प्रकाशक साङ्ग्रिला बुक्स र म) ले सुर्खेत र नेपालगन्जका पुस्तक पसलहरुमा तत्काल पुर्याउने र त्यसपछि केही समयमै विभिन्न जिल्लाका मुख्य–मुख्य बजारहरुमा पुर्याउने योजना छ। जतिसक्दो छिटो कर्णाली र कर्णालीबाहिरका पाठकमाझ पुर्याउने कोशिश भइरहेको छ।
अलि फरक विषयमा छलफल गरौं, कर्णालीबाट पुस्तक लेख्नेहरु धेरै भइकन पनि प्रकाशन गृह पाउन नसकिरहेको स्थिति छ। यो कत्तिको सहज छ ? के प्रकाशन गृहले कर्णालीका लेखकलाई नपत्याएका होलान् वा पहुँच पुगेन ?
भौगोलिक रुपमा कर्णालीले बाहिरी संसारसँग सम्बन्ध स्थापित गर्न गाह्रो भइरहेको भए पनि प्रविधिले हामीलाई बाहिरी संसारसँग प्रतिस्पर्धा गर्नैपर्ने बाध्यता छ। एक हिसाबले भन्ने हो भने यो अवसर हो। लेखन र पुस्तक प्रकाशनको कुरामा पनि त्यो लागू हुन्छ। प्रथमतः लेखन नै यस्तो बनाउनुपर्यो जुन प्रकाशनका लागि प्रकाशकले खोज्ने होस्।
कर्णालीका के–के मुद्दाहरु कोग्लेले उठाएको छ ?
कर्णालीका मुद्दाहरु नउठेका होइनन् तर ती मुद्दाहरुले न्यायोचित सम्बोधन मात्र नपाएका हुन्। कोग्लेले पनि त्यसमा केही अंश मात्र भए पनि योगदान दिएछ भनेर म खुशी हुने छु।
कर्णाली सधैँ फोहोर र भोकमरीको बिम्ब बन्यो। कोग्ले त्यसैको निरन्तरता हो कि जवाफ पनि हो ?
दुर्गम, दुःखी र भोकमरीको बिम्ब राज्यले निर्माण गर्न लाज मान्नुपर्ने हो। यी तीनै कुराहरु कर्णालीमा छैनन् भनेको होइन तर त्यो कस्ले बनायो त ? राज्यसत्ताले सडक पुर्याएको भए दुर्गम रहने थिएन।
राज्यकै अक्षमताले गर्दा भएको दुर्गम पीडा भौतिक रुपमा मात्र होइन मनोवैज्ञानिक रुपमा भोग्न बाध्य तुल्याउँदा कर्णाली दुःखित् हुन पुगेको हो। उसले बनाएको बिम्बमा ऊ नै बढी जिम्मेवार हुनुपर्छ र दोष पनि उसैले बोक्नुपर्छ न कि कर्णालीबासीले।
कर्णालीमा समस्या छन् तर ती समाधान हुनुपर्छ। नकारात्मक बिम्ब प्रयोग गरी अझ दुःखित् तुल्याउने काम कदापि गर्नुहुँदैन।
कर्णालीमा बसेर कर्णालीका मुद्दाबाहिर ल्याउन चाहनेलाई तपाईंको सन्देश के छ ?
धेरैजसो अभियन्ता र नेताहरुले कर्णालीका मुद्दाहरु उठाउँदै आएका छन्। त्यो महत्वपूर्ण कुरा हो। हामीले उठाएका अधिकांश मुद्दाहरु सम्बोधन हुँदैनन्।
यसका दुई मुख्य कारण छन्। एक, हामी अरुकै भरमा ती मुद्दाहरु उठाउने गर्दछौँ चाहे त्यो सामाजिक गैरसरकारी संस्थामा होस्, चाहे त्यो राजनीतिक पार्टीहरुमा नै किन नहोस्।