ढल्केवरका व्यापारीलाई क्युआर कोड हस्तान्तरण

विजय साह

जनकपुर

नेपाललाई ‘क्यास लेस’ बनाउने नेपाल राष्ट्र बैंकको अवधारणाअनुसार शनिबार ढल्केवरस्थित कृषि बजारका व्यापारीलाई 'क्यू आर कोड' हस्तान्तरण गरिएको छ।

ढल्केवरमा रहेको माछापुच्छ्रे बैंकले डिजिटल प्रविधिमार्फत आर्थिक कारोबार गर्न यहाँका खुद्रा तथा थोक विक्रेतालाई 'क्यु आर कोड' हस्तान्तरण गरेका हुन्।

शनिबार माछापुच्छ्रे बैंकले कृषि बजारको प्राङ्गण ढल्केवरमा एक कार्यक्रमको आयोजना गरी हस्तान्तरण गरेका थिए। त्यस अवसरमा बैंक संचालक जयमुकुन्द खनालले खुद्रा तरकारी पसलबाट खरिद गरिएको सामानको क्यू आर पद्धतीबाट भुक्तानी गरेर उदाहरण देखाएका थिए।

नेपाल राष्ट्र बैंकको क्यासलेस अवधारणामा जाने योजनालाई आत्मसात गर्दै जनस्तरसम्म पुर्‍याउन यस प्रकारको प्रविधिको सुरूवात गरेको माछापुच्छ्रे बैंकका कार्यकारी अधिकृत सन्तोष कोइरालाले बताए।

उनले क्यू आर कोडको माध्यमबाट भुक्तानी गर्दा खुद्रा पैसा दिनु नपर्ने र व्यापारीले पनि बचत गर्न बैंकसम्म जानुपर्ने झन्झटबाट मुक्त हुने जनाए।
 
मिथिला नगरपालिकाका नगर प्रमुख हरिनारायण महतोले नेपालमा थोरै समयको अन्तरालमा थुप्रै प्रविधिको विकास भएको र प्रविधिको अधिकतम उपयोग गर्न सक्ने बताए। 

'विगतमा बिजुली खानेपानीका महसुल तिर्न घण्टौ लाइनमा बस्नु पर्थ्यो तर यस प्रकारको प्रविधिको प्रयोग गरेर घरमै बसी–बसी भुक्तानी गर्न सकिन्छ। नगदमा आर्थिक कारोबार गर्दा लुटिने र हराउने डर पनि रहदैन्' उनले भने। 

मिथिला नगरपालिकाका नगर उपप्रमुख तारा लामा बस्नेतले यस्तो प्रविधिको पहुँच सबै समक्ष पुर्‍याउनु पर्ने बताइन्। 

'सबै मान्छे पढेलेखेका हुँदैनन्, उनीहरुलाई यस्तो कुरा थाहा हुँदैन। बजारमा शिक्षित तथा अशिक्षित दुबै वर्गका व्यवसायी छन्। र ग्राहक पनि दुबै वर्गका हुने हुँदा उनीहरुका लागि सम्बन्धित निकायले तालिमको व्यवस्था मिलाउनुपर्छ' उनले भनिन्। 

माछापुच्छ्रे बैंक सञ्चालक समितिका अध्यक्ष डा. विरेन्द्र महतोले क्यूआर कोडले धेरै सुविधा दिने बताए। 

'कसैसँग क्यास छैन भने सिधै मोबाइलबाटै पैसा पठाउन मिल्छ, क्यास नभए पनि भयो, बचतका लागि बैंकमा जानु परेन, चेन्ज गर्न झन्झट नरहने जस्ता थुप्रै सुविधा प्राप्त गर्न सकिन्छ' उनी भन्छन्, 'सबै व्यवसायीलाई क्यु आर कोडको प्रयोग गर्न आग्रह गर्दछु।' 
 

प्रकाशित मिति: : 2021-02-20 14:21:00

प्रतिकृया दिनुहोस्