जनवादी गायक भन्छन्– कमरेडहरू गाडीमा सरर... (भिडियो)

दिलिप कुवँर

काठमाडाै‌ं

१० वर्षे लामो सशस्त्र युद्धलाई Nepalese Civil War फर्किएर हेर्दा आज पनि प्रायः मानिसहरू रोल्पा र रुकुमको भूगोललाई सम्झन्छन्। युद्धको बेला देशैभर गुञ्जिने ‘कसले भन्छ क्रान्ति यहाँ सफल हुदैन’ बोलको क्रान्तिकारी गीतले नेपाली समाजमा राम्रो जनाधारको निर्माणसमेत गर्यो। यो गीतका गायक हुन्–मोहित श्रेष्ठ। 

तत्कालीन माओवादीले ०५२ साल १ फागुनमा होलेरी चौकी आक्रमण गरेर जनयुद्ध सुरु गर्दा मोहित १८ वर्षका मात्र थिए। 

रोल्पाको जंकोटमा जन्मिएका उनले त्यसभन्दा पहिले माओवादी (तत्कालीन भाषामा जनमोर्चा तथा मशाल) का कलाकारले गाउँ–गाउँमा गएर चेतनासहितको विभिन्न सांस्कृतिक कार्यक्रम गरेको देखेका थिए। जसले उनको मन र मस्तिष्कमा गहिरो प्रभाव पारेको थियो। 

वर्ग संघर्ष र मुक्तिको लागिभन्दै उनका साथीहरूले गरेको युद्ध र आन्दोलनले विस्तारै मोहितलाई पनि क्रान्तिप्रति चेत गरायो। विस्तारै उनले स्थानीय स्तरमा पार्टीको प्रचार तथा पम्प्लेट टाँस्ने र बाड्ने काम गर्न थाले। उतिबेलाको समय सम्झदै मोहित भन्छन्, ‘त्यतिबेला प्रहरीको दमनले मलाई झन् सशक्त र प्रशिक्षित गरायो।’

०५३ सालको चैत्रबाट रोल्पा Rolpa  जिल्लाका तत्कालीन सेक्रेट्री तथा डिभिजन कमान्डर किम बहादुर थापा (सुनिल) को अगंरक्षक भएर उनले आफ्नो जनयुद्धको पूर्णकालिन यात्रा सुरु गरे। तर त्यसको चार–पाँच महिना लगत्तै उनी थापाको अगंरक्षकको जिम्मेवारीबाट टाढा भएर सैन्य ‘फर्मेशन’ मा लागे। उनी भन्छन्, ‘क. किम बहादुर थापाले नै मलाई फौजी यात्रामा लाग्न प्रोत्साहन गर्नुभयो, जुन यात्राबाट मैले धेरै पाठ सिक्ने मौका पाए।’

त्यसपश्चात उनी पूर्ण रूपमा बन्दुक बोकेर हिड्न थाले। ‘हामीले थालेको क्रान्ति नेपाली जनताको लागि नौलो थियो। विस्तारै चेतनाको लहर फैलिदै थियो,’ त्यो समय सम्झिदै उनले बिएल नेपाली सेवासँग भने। 

युद्धका प्रत्येक दिन हत्केलामा मृत्यु र काँधमा बन्दुक बोकेर हिँडेको क्षण सम्झदै उनी थप्छन्, ‘म जहाँ जतिबेला पनि मारिन सक्थे। तर, भाग्य बलियो रहेछ र आज सकुशल जीवन बाँचिरहेको छु।’

०५८ सालपछि काँधको बन्दुकलाई थन्को लगाएर उनी आफ्नो आवाजलाई बुलुन्द पार्न थाले। क्रान्तिकारी गीत गाउन सुरु गरे। गाउँगाउँमा पुगेर चेतनामुलक कार्यक्रम गर्दै हिड्न थाले। त्यो समयलाई स्मरण गर्दै उनी भन्छन्, ‘विस्तारै मलाई क्रान्तिको लागि बन्दुकभन्दा पनि गीत–संगीतको माध्यम बढि उपयुक्त, चेतनायुक्त र प्रभावकारी लाग्न थाल्यो।’ 

उनको जीवनमा सधै बन्दुक–बारुद, गीत–संगीत मात्रै पनि भएन। केही रमाईला घटना पनि भए। ०५९ सालमा तत्कालीन शाही सेना र जनमुक्ति सेनाको लिस्ने भिडन्तबाट फर्कर्दै गर्दा उनको भेट होलिका केसीसँग भयो। जो महिला छापामारको दस्ता कमान्डर थिइन। प्युठान निवासी होलिकासँग विस्तारै उनको सम्बन्ध नजिक हुन थाल्यो। एकअर्कासँग प्रेममा परे। बिहे पनि गरे।



इतिहास बन्नबाट चुकेको महिला लिग

भादा होमस्टेको त्यो लठवा, झुम्रा, मघौटा, सखिया नृत्य



०५८ सालपछि बन्दुक थमाएर जनवादी कालाकारिता सुरु गरेसँगै उनी थुप्रै केन्द्रिय कार्यक्रममा सहभागी बने। जतिबेला उनले युद्धको नेतृत्व गरिरहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’, बाबुराम भट्टराईलगायतका ठूला नेतालाई नजिकबाट नियाल्ने र देखभेट गर्ने मौका पाए। त्यहि दौरान यता उनले ‘कसले भन्छ क्रान्ति यहाँ सफल हुदैन’, ‘यो मनको परेलीमा’, ‘बसन्तको बहार’, ‘ढल्दैछु कमरेड’ जस्ता पाँच दर्जन बढि गीत गाए ।  

०६२-६३ सालको जनआन्दोलन जनआन्दोलन २०६३  पश्चात शान्ती सम्झौता भएपछि उनलाई लागेको थियो, १० वर्षको सपना पुरा होला। पार्टीको संस्कार कायमै रहला। देशमा शान्ती आउला, विकासको गति तिव्र हुँदै जाला। तर त्यस्तो केही नभएको आजभोलि उनको गुनासो छ। त्यसयता नेताको सिद्धान्त, व्यवहार, बोली र संस्कारमा अनावश्यक परिवर्तन आएको उनको जिकिर छ। तत्कालीन नेतृत्वलाई आजभोलि उनी सिधै प्रश्न गर्छन, ‘तपाईको हैसियत बनाउन मात्र जनताले रगतको खोला बगाएका हुन्?’  

उनी प्रश्न थप्दै सोध्छन्, ‘त्यतिबेला देखेको जनवादी क्रान्तिको सपना खै कहाँ गयो? हामीलाई प्रयोग मात्र किन गरियो?’

युद्धताका सँगै हिँडेका कलाकार साथीहरू कोही वैदेशिक रोजगारीमा तातो बालुवासँग दुःख साटिरहेका छन्। कोही आफ्नै स–साना व्यवसाय गरेर गुजरा चलाइरहेका छन्। कोही मजदुरी गरेर जीवन चलाइरहेका छन्। कोही काठमान्डौका विभिन्न दोहोरी साँझमा बुर्जुवा गीत गाएर संघर्ष गरिरहेका छन्। मोहित आफै पनि अहिले काठमाडांैमा संगीत कक्षा लिने गर्छन। यस्ता अवस्थालाई उनी विडम्बनाको संज्ञा दिँदै सुनाउँछन्, ‘क्रान्तिकारी गीतहरू मात्र गाएर जीवन चलाउन नसकिदो रहेछ। अलिकति आम्दानी गरेर जीवन चलाउन व्यवसायिक तरिकाले मायापिरतीका गीत गाउनै पर्दोरहेछ।’

प्रकाशित मिति: : 2021-02-20 22:23:00

प्रतिकृया दिनुहोस्