ललितपुर महानगरपालिकाले गौतमबुद्ध रंगशालालाई दियो २० लाख

File Photo
File Photo

ललितपुर महानगरपालिकाले चितवन जिल्लामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई २० लाख रूपैयाँ आर्थिक सहयोग गरेको छ।

महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले शुक्रबार धुर्मुस-सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेललाई सो रकम बराबरको चेक हस्तान्तरण गरे।
प्रमुख महर्जनले सरकारले गर्नुपर्ने कामको जिम्मा फाउण्डेशनले लिएर गरेकामा धुर्मुस-सुन्तलीको प्रशंसा गर्दै सो रंगशालाले नेपाललाई अन्तर्राष्ट्रियस्तरको ख्याति प्रदान गर्ने विश्वास व्यक्त गरे।

फाउण्डेशनका अध्यक्ष कट्टेलले रङ्गशाला निर्माणको काम ८५ प्रतिशत सम्पन्न भइसकेको बताए । उनले भने, ‘आउँदो १४ महिनामा रंगशाला निर्माणको काम पूर्ण रूपमा सम्पन्न गर्ने विश्वास लिएका छौं।

यदि मुलुकको अवस्था सामान्य हुँदै गएमा तोकिएकै समयमै काम सम्पन्न हुनेछ।’सो रङ्गशालामा २२ विधाका खेल खेल्न सकिन्छ । रंगशालामा ७७ जिल्लाका नाममा फरक-फरक कक्ष निर्माण हुनेछन्।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले महानगरपालिकाले रंगशालालाई रकम सहयोग गरी गर्न बाँकी रहेका काममा सानो मद्दत पुर्‍याएको जनाए।

प्रकाशित मिति: : 2021-02-20 09:18:00

प्रतिकृया दिनुहोस्