यसकारण ओलीको निशानामा परे परियार

नेपाल खबर

काठमाडाैं

सरकारले २ नम्बर प्रदेशका प्रदेश प्रमुख तिलक परियारलाई शुक्रबार बर्खास्त गरेको छ।

राष्ट्रिय प्रजातन्त्र दिवसको दिन सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले परियारलाई बर्खास्त गरेर राजेश झालाई नयाँ प्रदेश प्रमुख नियुक्त गरेकी हुन्।

राजेश अहिराजका रुपमा परिचित झाले पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीका कट्टर समर्थकको छवि बनाएका छन्। संसद विघटन गर्ने निर्णय लगायतका प्रधानमन्त्री ओलीका कदमहरुको पक्षमा झाले प्रतिरक्षा गर्ने गरेका छन्।

सरकारले २०७६ साल कात्तिक १९ गते सातै प्रदेशका प्रदेश प्रमुखहरुलाई हटाएर उनीहरुको ठाउँमा नयाँ प्रदेश प्रमुखहरु नियुक्त गरिएको थियो। पूर्वमाओवादी नेता रहेका परियारलाई पनि सरकारले त्यति नै बेला प्रदेश प्रमुख नियुक्त गरेको हो। त्यतिबेला नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमा प्रधानमन्त्रीले परियारको नाम सिफारिश गरेको बताइन्छ।

पुस ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेपछि नेकपा अहिले विभाजित छ।

अहिले फरक फरक पार्टीको अभ्यास गरिरहेका ओली र प्रचण्ड–नेपाल पक्ष एकअर्काप्रति आक्रामक छन्। यति नै बेला सरकारले परियारलाई हटाएको छ।

प्रकाशित मिति: : 2021-02-19 19:22:00

प्रतिकृया दिनुहोस्