नेपाल विद्युत प्राधिकरणको दमक वितरण केन्द्रबाट उर्लाबारी–४ स्थित निर्माणाधिन सव स्टेसन सम्म विद्युत प्रशारण गर्ने पोल ल्याउने विषयमा विवाद सुरु भएको छ।
उर्लाबारी–८ अठियावारीका बराइली परिवारले आफूले खोलेको नीजि बाटोमा विद्युतको पोल गाड्न नदिएपछि विवाद सुरु भएको हो।
फूलमाया बराइलीले भनिन – हामीले आफ्नो सजिलोको लागि १२ फुटको बाटो खोलेका हौं। नीजि बाटो नक्शामा छैन्। नक्शामा नभएको बाटोबाट विद्युतको पोल गाडेर हाम्रो जग्गाको अबमूल्यन हुन हामी दिन्नौं। उनले जग्गामा उच्च गतिमा विद्युत बग्ने तार पोल भएपछि बैंकले आफ्नो जग्गा धरौटी लिन नमानेको समेत बताईन। छोरालाई अष्ट्रेलिया पठाउनु छ , तत्काल ४५ लाख रुपियाँ चाहिएको छ। बैंकमा धितो राखेर पैसा निकाल्न खोजेको बैंकले मानेन,उनले भनिन्।
उर्लाबारी वडा नं. ८ का वडाध्यक्ष कुलबहादुर कार्कीले बराइली परिवारको विमति हुँदा हुँदै त्यहाँबाट विद्युत प्रशारण गर्न नसकिने बताए। उनले सरकारी बाटोको किनारबाट विद्युत प्रशारण पोल लान सकिने विकल्प रहेको बताए। नेपाल विद्युत प्राधिकरणको उर्लाबारी वितरण केन्द्रले आफ्नै सब स्टेसनबाट विद्युत वितरण गरिरहेको छ।
उर्लाबारी– ४ को १९ कट्ठा जग्गामा प्राधिकरणको प्रणाली सुदृढीरकण आयोजनाले सव स्टेसन निर्माण गर्ने काम अन्तिम चरणमा पुगेसँगै विद्युत वितरण प्रक्रिया अघि बढ्न लागेको हो। विवाद समाधान हुनासाथ हामी आफ्नै सव स्टेसनबाट विद्युत वितरण गर्छौं– उर्लाबारी वितरण केन्द्रका प्रमुख दिगम्बर यादवले भने।
मोरङमा विद्युत प्राधिकरणले चार वटा वितरण केन्द्र राखेको छ। जसमध्ये उर्लाबारी वितरण केन्द्रले हाल सम्म दमक वितरण केन्द्रको विद्युत वितरण गर्दै आएको छ। टाढाबाट विद्युत ल्याउँदा ‘लो भोल्टेज’ हुने गर्छ। वितरण केन्द्रका प्रमुख इन्जिनीयर यादवले आठ एमभिए क्षमताको सव स्टेसन निर्माण सम्पन्न भएपछि लो भोल्टेजको समस्या अन्त्य हुने बताए।
यादवका अनुसार उर्लाबारी वितरण केन्द्र अन्तरगत ४२ हजार ग्राहक रहेका छन्। उर्लाबारी केन्द्रले उर्लाबारी, पथरीशनिश्चरे नगरपालिका र मिक्लाजुङ गाउँपालिका एवं रतुवामाई नगरपालिकाका ३ वटा वडामा विद्युत वितरण गरेको छ। दमकबाट आएको विजुली उर्लाबारी सम्मका लागि समस्या हुँदैन, तर जति दुरी बढ्दै जान्छ उति कै लो भोल्टेजको समस्या बढ्दै जान्छ।
इन्जिनीयर यादवले सुख्खा मौसममा सब स्टेशन सञ्चालन गर्न सकिएन भने मिक्लाजुङका पहाडी गाउँ र पथरीशनिश्चरे नगरपालिकाका दक्षिणी गाउँहरूमा विद्युत आपुर्तिमा समस्या हुने बताए। उनले सव स्टेसन सञ्चालन गर्न नसके लोडसेडिङ गर्नुपर्ने अवस्था आउन सक्ने जनाउ दिए।