१.घरको सम्झना
(छन्द: झ्याउरे)
समुद्रपारि डेराको वास कर्मको लहना।
हिमालचुली देखेर आयो घरको सम्झना।
जन्मकी भूमि हुन् आमा हाम्री मुटुमा बसेकी
हृदयभरि यिनकै निम्ति भरपूर भावना।
पवित्र भूमि पितृको देश खुनको साइनो
दूधको नाता जत्तिकै हुन्छ दिलमा चाहना।
जहाँ नै बसौँ यो मन दुख्छ घरको पीरैले
किन हो कुन्नि देख्दैछु अचेल नराम्रा सपना।
देशका लागि दिएर आफ्नो प्राणको आहुति
स्वर्गमा बस्छन् शहीद तारा चम्किलो गहना।
२.धरतीको पुकार
(छन्द-भुजङ्गप्रयात)
म धर्ती हुँ तिम्री हितैषी स्वदेश।
र आकाश ताराहरू हुन् विदेश।
उडी यानमा घुम्न सर्वत्र जाऊ
नबिर्से घरैका सुविस्ता विशेष।
म माटो हुँ पानी हुँ हावा हुँ आगो
छ आकाश खोक्रो, गुदी छैन लेश।
कता बस्न सक्छौ जिमीदेखि माथि
यहीँ जिन्दगानी यहीँ आयु शेष।
पुकारेँ दिलैदेखि सन्तान आओ!
छ ढुङ्गा पराई दिनेमात्र ठेस।
म तिम्री हुँ अस्तित्त्व आत्मा स्वरूपी
र तिम्रै हुँ आफ्नी स्वभाषा र भेष।