कविता मेरो लागि थेरापी हो। तनावको बेला सधैं म सुन्दर कविताहरू पढ्ने गर्छु। र, तनावबाट दूर हुन्छु। माया गर्ने मानिसहरूको माया नपाउँदा, साथ नपाउँदा कविता पढ्छु। र, प्रेमको अनुभूति गर्ने गर्छु। प्रिय साथीहरूको अनुपस्थितिमा कविता पढ्छु। र, साथी बनाउँछु तिनै कविताहरूलाई।
कहिलेकाहीं सुन्दर कविताहरू पनि बिहान भर्खरै उठेर हाई काड्दै ओछ्यानमा बसिरहेका, ढोकामा टोलाइरहेका, बाटोमा हिँडिरहेका श्रृङ्गारविहीन युवतीहरूझैं लाग्छन्। त्यतिबेला म कविताहरूको कपाल कोरिदिन्छु । कविताको हातमा छिनछिन बज्ने चुरा लगाइदिन्छु। फुटेर चिरा चिरा भएको कविताको ओठमा लिपगार्ड लगाइदिन्छु।
लिपिस्टिक लगाएर कविताको ओठलाई ताराझैं चम्किलो बनाइदिन्छु। कविताको खुट्टामा अक्षरहरूको पाउजु लगाइदिएर छमछमी नचाइदिन्छु-कवितालाई। कहिलेकाहीं चाहिनेभन्दा ज्यादा चुच्चो हुने गर्दछ-कविताको नाक। त्यसलाई अक्षरकै छुरीले सम्याएर आदिवासीहरूको झैं थेप्चो बनाइदिन्छु-कविताको नाकलाई।
कहिलेकाहीं त्यसै निराश भएर चिउँडोमा हात राखेर टोलाइरहेको कविताको काँधमा आफ्नो हात राखेर ढाडस दिने गर्दछु। र, परेड खेलाउन लैजाने गर्दछु-लयहरूको सडकमा। कविताहरूलाई जुलुसमा, भीडमा, कोलाहलमा लैजान मलाई कहिल्यै मन परेन। त्यहाँ गए भने कविताहरू कुटिन्छन् कि, घाइते हुन्छन् कि या त मारिन्छन् कि भन्ने डर लागिरहन्छ।
बरु मलाई कविताहरू एकान्तमा, शून्यतामा कसैलाई नपर्खिरहेर पनि पर्खिरहेझैं लाग्ने भावमा, मुद्रामा बसिरहून् जस्तो लाग्छ। बरु कसैले नछोइकन, स्पर्शै नगरिकन बाँचोस् जस्तो लाग्छ कविता। बरु शिवको मार्गमा हिँडिरहेको कुनै यात्रीझैं कहिल्यै जमिन नभेटिने कुनै गहिराइमा खसिरहोस् जस्तो लाग्छ-कविता।
कविता पढ्नको लागि मलाई कुनै निश्चित र निर्धारित समयको आवश्यकता पर्दैन। बसमा यात्रा गर्दागर्दै या पैदल यात्रा गर्दागर्दै पनि म कविता पढिदिन्छु। कविता मेरो यात्रा हो। र, गन्तव्य पनि। परीक्षा चलिरहेका दिनहरूमा म कविता पढिदिन्छु। कहिलेकाहीं कतिसम्म लाग्छ भने परीक्षाको उत्तरपुस्तिकामा मन परेको कविको मन परेका कविताका हरफहरू लेखिदिउँ कि या त झुक्किएर लेखि पो हाल्छु कि जस्तो लाग्छ।
यसरी म प्रेममा छु-कविताको। बिजुलीको लागि पानीझैं कविता मेरो लागि ऊर्जाको श्रोत हो। कवि सिद्धिचरण श्रेष्ठ, मञ्जुल, कृष्णभूषण बल, अविनाश श्रेष्ठ, रमेश क्षितिज, प्रकाश रम्घाली, सुधीर छेत्री र निरज भट्टराईका कविताहरू पढ्दा म जीवनको ऊर्जा सधैं दोब्बर भएको महसुस गर्छु।
- सिजन श्रेष्ठ