नेपालगञ्जमा अस्पताल तथा स्वास्थ्य संस्थाका फोहोरको उचित व्यवस्थापन हुने निश्चित भएको छ।
स्वास्थ्यजन्य फोहर व्यवस्थापनका लागि नेपालगञ्ज उपमहानगरपालिका र जर्मन सहयोग कार्यक्रम जिआइजेड स्वास्थ्य क्षेत्रका लागि सहयोग कार्यक्रमबीच आज द्विपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ।
समझदारी पत्रमा उपमहानगरपालिकाका प्रमुख डा धवलशम्शेर राणा र जिआईजेड स्वास्थ्य क्षेत्रका लागि सहयोग कार्यक्रमका प्रमुख प्राविधिक सल्लाहकार एलेक्कजेन्ड्रा पुलुस्केले हस्ताक्षर गरे।
स्वास्थ्यजन्य फोहर व्यवस्थापनका लागि प्राविधिक तथा उपकरणको सहयोग जिआईजेडले गर्ने भएको छ। उपमहानगरपालिकाले भवन निर्माण प्रक्रिया शुरु गरेको छ।
समझदारीपत्रमा हस्ताक्षर गर्दै नगर प्रमुख डा धवल शम्शेर राणाले स्वास्थ्य क्षेत्रको हवको रुपमा रहेको नेपालगञ्जमा स्वास्थ्यजन्य फोहर व्यवस्थापन हुनु आफैमा ठूलो उपलब्धि भएको बताए।
उनले सम्झौतानुसार उपमहानगरपालिकाले छिट्टै भवनको काम अघि बढाइने बताए।
नगर उपप्रमुख उमा थापा मगरले नगरको चाहनाको परियोजना सञ्चालन भएकामा खुशी लागेको भन्दै आगामी दिनमा पनि निरन्तर सहकार्यको अपेक्षा गरे। रासस