डा. उपाध्यायको उपन्यास ‘कफीलभ’ लोकार्पण

गीत लेखनबाटै गिनिज बुक अफवर्ल्ड रेकर्ड बनाएका किर्तिमानी गीतकार डा. डीआर उपाध्यायले आफ्नो ११ औं उपन्यास ‘कफीलभ’ बजारमा ल्याएका छन्।

नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको लोकार्पण कार्यक्रममा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, आख्यानकार भुवनहरि सिग्देल, कृतिका लेखक, प्रकाशक लगायतले पुस्तकको संयुक्त विमोचन गरेका हुन्।

कलेज पढ्दै गरेका युवायुवतीको कफीको चुस्कीसँगै सुरु भएको प्रेम सम्बन्ध र त्यसले जीवनमा ल्याएको आरोह अबरोहको कथामा यो उपन्यास केन्द्रित रहेको छ। देहरादुनका दुन विश्वविद्यालयमा भेटिएका पाँच जना नेपाली विद्यार्थीहरुबीचको कलेज अध्ययन क्रमका विभिन्न घटना र उनीहरुको आपसी प्रेममा यो उपन्यास केन्द्रित छ।

पुस्तकबारे बोल्दै कुलपति उप्रेतीले अहिलेका तन्नेरी पुस्ताको प्रेम एवम् जीवन शैली र बर्तमान नेपाली समाजको अवस्था यसले छर्लङ्ग पारेको बताए। गीत लेखनबाट कृतिमान कायम गरेका डा.उपाध्यायको उपन्यास पनि त्यत्तिकै पठनीय भएको भनाइ उनले उक्त कार्यक्रममा राखे।

अग्रज आख्यानकार भुवनहरि सिग्देलले यो उपन्यासले प्रेमको परिभाषा सामाजिक मूल्य र मान्यता भन्दा फरक किसिमले दिएको बताए।

समकालीन पुस्तालाई यो उन्यासका कथा अहिले आफ्नो भोगाइ जस्तो लाग्ने र पौढपुस्ताले आफ्ना कलेजका दिनहरु स्मरण गर्ने पनि उनले बताए।

आख्यानकार डीआर उपाध्यायले यो पुस्तक लेख्दा आफु २४ वर्षीय तन्नेरी भएर त्यही उमेरका युवायुवतीहरुको संगतमा रही उनहरुको प्रेम भावलाई पुस्तकमा समेटेको बताए। यो पुस्तक तन्नेरी मनहरुसँग सामिप्य रहेको र सबै पुस्ता एवम् वर्गको भाव यसमा समेटेको पनि उनले जानकारी गराए।

पुस्तकको समीक्षा गर्दै कवि हेम प्रवासले तृतीय पुरुषमा लेखिएको यो उपन्यास सम्वाद शैलीको भएको बताए। उपन्यास पढ्न थालेपछि उपन्यासभित्रका पात्रहरुको यात्रा र उनीहरुबीच अब के होला भन्ने कौतुहलताले कृति पढेर सकिएको महसुस नै नहुने बताए।

यस्तै संगीतकार सन्तोष श्रेष्ठले लेखकको बारेमा जानकारी गराउँदै अरु उपन्यास भन्दा यो निकै फरक शैलीमा लेखकले तयार गरेको बताए।पुस्तक पढ्दा आफुलाई एउटा सफल चलचित्र हेरेको महसुस उनले सुनाए।

गायकतथा संगीतकार सागर सरद अधिकारीले राम्रागीत लेखेर विश्व रेकर्ड कायम गरेका डा. उपाध्याय आख्यान लेखनमा पनि त्यत्तिकै प्रभावशाली भएको बताए। पुस्तकका सम्पादक तथा गीतकार सञ्चारकर्मी डब्बु क्षत्रीले आफ्नो उमेर भन्दाआधा उमेरमा झरेर आख्यानकार डीआर उपाध्यायले अहिलेको पुस्ताको प्रेमलाई गहन रुपमा पुस्तकमा उतारेको बताए।

घटना, स्थान, परिवेश र सम्बादलाई यथार्थपरक रुपमा समेटेकाले यो उपन्यास सबैलाई आफ्नो कथाहो जस्तो लाग्ने पनि उनले बताए।प्रकाशक पुष्पराज पौडेलले पुस्तक पढेपछि आफ्नो लगानी सही कितावमा परेको महसुस पाठकलाई हुने जिकिर गरे। शिखा बुक्सले प्रकाशन तथा ज्ञानज्योती पब्लिकेशनले वितरण गरेको यो उपन्यासलाई डब्बु क्षत्रीले सम्पादन गरेका हुन्। २४० पृष्ठको यो पुस्तकको मूल्य ३७५ रुपैयाँ रहेको छ।

प्रकाशित मिति: : 2021-02-15 11:37:00

प्रतिकृया दिनुहोस्