अस्ताए सिक्किमका तारा उदय चन्द्र बशिष्ठ

बरिष्ठ साहित्यकार तथा सिक्किमका तारा उदय चन्द्र बशिष्ठको ९१ वर्षको उमेरमा निधन भएको छ। 

श्रीमद् भागवत महापुराणलाई संस्कृतबाट नेपालीमा अनुवाद गर्न उनको अतुलनीय योगदान छ। ९१ वर्षको उमेरमा गत शुक्रबार राती ८ बजेर ३० मिनेटमा निधन भएको परिवारले बिएल नेपाली सेवालाई जानकारी दियो।

जेठा ज्वाई प्रमोद ढकालका अनुसार हद्यघातबाट उनको निधन भएको हो। ‘बुवालाई सन् २०१० मा पहिलो पल्ट हद्यघात भएको थियो। उहाँ पछिल्लो समय पक्षघातका कारण ओछ्यान पनि पर्नुभएको थियो,’ शुक्रबार पूर्व सिक्किमको रेनोकस्थित तारपिनको आफ्नै घरमा मृत्युवरण गरेका बशिष्ठको बारेमा ढकालले जानकारी दिए। 

बशिष्ठको दुई छोरी, दुई छोरा छन्। जेठा छोरा डा. भरत चन्द्र वशिष्ठ साइन्टिस (माइक्रोबायलोजी) हुन् भने कान्छो छोरा सतिस चन्द्र बशिष्ठ सिक्किममै वन अधिकृतको पदमा कार्यरत छन्। छोरी सम्झना ढकाल साहित्यकार हुन्। उनको थुप्रै लेख तथा समालोचना नेपाली पत्रपत्रिकामा प्रकासित छ। 

साहित्यकार बशिष्ठले संस्कृतका थुप्रै कृतिलाई नेपाली भाषामा अनुवाद गरेका थिए। नेपालका थुप्रै साहित्यकारसँग उनको घनिष्ट सम्बन्ध थियो। महाकवि लक्ष्मीप्रसाद देवकोटाका उनी ठूला प्रसंसक थिए। १ जनवरी १९३० मा बुवा अग्निधर भण्डारी तथा आमा नरमाया भण्डारीबाट जन्म लिएका बशिष्ठले रेनोककै स्कटिस मिसन स्कुलबाट प्रारम्भिक शिक्षा लिएका थिए। 

सिक्किममा नेपाली भाषाको उत्थानमा उनले थुप्रै काम गरेका थिए। नेपाली भाषामा गरिएको उनको साहित्य सिक्किमको स्कुल तथा कलेजमा पढाई हुन्छ। उनको अटोबायोग्राफी सुक्ति सुधा, कविताको संगालो हो। नेपाली साहित्य परिषद्, सिक्किमले उनलाई २००६ सालमै भानु पुरस्कारबाट सम्मानित गरेको थियो।

सन् १९९० मा नेपाल आउँदा राष्ट्रकवि माधव घिमिरे र जनकवि धर्मराज थापासँग साहित्यकार बशिष्ठसन् १९९० मा नेपाल आउँदा राष्ट्रकवि माधव घिमिरे र जनकवि धर्मराज थापासँग साहित्यकार बशिष्ठ

प्रकाशित मिति: : 2021-02-15 11:19:00

प्रतिकृया दिनुहोस्