केहीबेर ‘भष्मासुरको नलीहाड’लाई सम्झियौँ, हामीले । हामी अर्थात् भष्मासुरका निर्देशक बद्री अधिकारी, अनि कलाकारहरू सरोज खनाल, किशोर डंगोल र म । यो नाटकका लेखक हुन् साहित्यकार धु्रवचन्द्र गौतम ।
नाटक खेलेको करिब ३४ वर्षपछि हामी चारभाइ केही समय गफियौँ । कति चाँडो समय बितेको !
२०४३ वैशाखमा नाचघरमै मञ्चन भएको थियो यो नाटक । हामीसँगै अरू पनि थिए, रवि अधिकारी, सुभाष गजुरेल, शान्ति, सुरेन्द्र नकर्मीहरू ।
त्यो समयमा रङ्गकर्मीहरू यसै बस्दैनथे । मौका मिल्यो कि कुनै न कुनै नाटकमा अभिनय गरिरहेका हुन्थे । धेरैजसो आ–आफ्नै नाट्य समूहबाट खेल्थे । त्यसबेला सक्रिय थियो, आरोहण, रंगकर्मी जमात, जेमन्त नाट्य परिवार (जेनाप), श्री समूह, युनापलगायत अरूहरू पनि ।
यही माघ २१ गते अपराह्न नाचघरको हरिप्रसाद रिमाल प्रेक्षालय अघिल्तिर तिनै समूह र त्यसभन्दा बाहेकका रङ्गकर्मीहरू जुट्दै थिए । यो अवसर जुराउने भूमिकामा थिए, पुराना रङ्गकर्मी राजेन्द्र शलभ र किशोर डंगोल ।
अन्ततः अग्रज रङ्गकर्मीहरूको त्यो जमघट भएरै छाड्यो ।
चौथो तलामा रहेको प्रेक्षालय अघिल्तिर पुराना नाट्यकर्मी भेला हुँदै थिए । कोही आइसकेका थिए । कोही आउँदै थिए । अगाडि कुर्सीमा राखिएको सानो डायरीमा आफ्नो नाम र फोन नम्बर लेख्दै भन्दै थिए– ‘ओहो ! धेरै समय पछि...!’