शीतल गिरी
फेब्रुअरी १४ अर्थात् ‘भ्यालेन्टाइन डे’ विश्वभरका प्रेमीप्रेमिकाको विशेष दिन । साँचो र चोखो प्रेमको बलिदानीपूर्ण जित भएको सम्झना गर्ने दिन । यो दिन उपहार र कार्डको आदान–प्रदान व्यापक रूपमा हुने गरेको छ । यो दिनलाई पश्चिमा मुलुकमा मायाको प्रतीकका रूपमा खास महŒवसाथ मनाइने गरिन्छ ।
पश्चिमा संस्कृति अनुशरण गर्नु र नयाँ पुस्ताले प्रणय दिवसलाई महŒव दिनु आफैँमा नराम्रो भने होइन । यो दिवसलाई मनाउने नयाँ पुस्ताले यसको सुरूवात कहिले, कहाँबाट र कसरी भयो भन्ने हेक्का राखेर सही किसिमबाट, सरल तरिकाले, सभ्य बनेर रमाउनुपर्छ । अनि नेपाली समाजले पनि स्वीकार गर्नैपर्छ । नयाँ पुस्ताले आफू कुन धरातलमा कुन संस्कृतिमा हुर्किएको हुँ भन्ने कुरो बिर्सिएर आधुनिक प्रेमीप्रेमिका बनेर स्वच्छन्द यौनलाई प्राथमिकता दिन थाल्यो भने समाजमा विकृति छाउँछ ।
कुनै पनि कुरो अपनाउनुभन्दा पहिले त्यसको तथ्यपूर्ण सत्य थाहा पाउनुपर्छ । अहिले संसारका प्रायः सबै समुदायका नयाँ पुस्ताको साझा दिवस बनेको ‘भ्यालेन्टाइन डे’ सुरुमा रोमन क्याथोलिकहरूको चाडका रूपमा थियो । पश्चिमा साहित्यको इतिहास केलाउँदा सन् २६९ मा रोमका तत्कालीन निरङ्कुश सम्राट क्लाउडियस द्वितीयले त्यहाँको युवा दस्ता प्रेम, यौन र विवाहमा लिप्त रहेर सैनिकमा भर्ना हुन नमान्ने र भर्ना भएकाहरू पनि यस्तो सम्बन्धले गर्दा युद्धका लागि कमजोर बन्दै जाने निष्कर्षसाथ रोमन साम्राज्यका सैनिक तथा अन्य युवामा प्रेम, विवाह तथा यौन सम्बन्ध प्रतिबन्ध लगाए । निरङ्कुश सम्राटको उक्त कदमप्रति अधिकांश मानिस सन्तुष्ट थिएनन् तैपनि मृत्युदण्डको डरले कसैले विरोध गर्ने आँट गरेनन् ।