कनकमणि दीक्षित
सन् १९९४ तिरको कुरा हो। बाबुराम भट्टराई पाटनढोकास्थित मेरो अफिसमा पसेर भने, “कनकजी, म अप्ठेरोमा परेँ। मद्दत गर्नुपर्यो।’’ नजिक गल्लीमा संयुक्त जनमोर्चाको कार्यालय थियो। प्रहरीबाट घरधनीले दुःख पाएपछि उक्त कोठा छोड्न दबाब रहेछ।
दिल्लीमा एकै समयमा भट्टराईले ‘रिजनल प्लानिङ’ र मैले कानुन पढेको कारण अलि परैबाट भए पनि चिनापर्ची थियो। मैले सहयोग गर्नु मनासिब ठानेँ र पाटनढोकाको मेरो आमाको नाममा रहेको त्यो घरमा मैले उनलाई स्वागत गरेँ।
करिब ६–७ महिना बाबुरामजीले त्यहाँ अफिस राखे, मेरो भन्दा ठीक मुनि। भाडा मागिएन र उनले पनि दिएनन्। कार्यालयमा नेत्री हिसिला यमीलगायतका कार्यकर्ताहरू आउने–जाने गर्थे। बार्दलीको भित्तामा माओवादका पोस्टरहरू टाँसिएका थिए, जुन ‘जनयुद्ध’को धङधङीबीच पनि त्यहाँ रही नै रहे। पछि जनमोर्चाको कार्यालय मैतीदेवीतिर सारे क्यारे बाबुरामजीले।
पाटनढोका डेरा सारेको एक–डेढ वर्षपछि सुरु गरिएको ‘जनयुद्ध’को योजना कतै सोही कार्यालयमा त रचिएको थिएन भन्ने प्रश्नले मलाई धेरै पछिसम्म पछ्यायो। उत्तर पाउन २०६५ सालसम्म कर्नुपर्यो। ‘अल जजिरा’ टेलिभिजन च्यानलका लागि बाबुरामजी र म पाटनदरबार स्क्वाएर देखिने गरी दक्षिणपट्टिको एउटा उच्च कौसीमा क्यामेरा अगाडि बसेर बहसमा जुट्यौं। २०६४ मङ्सिरमा चुनावमा किन नगएको भन्ने प्रश्नको जवाफमा उनले दरबारिया षड्यन्त्रलाई इङ्गित गर्दै चुनाव सम्भव नभएको विचार राखे। मैले त्यतिबेला माओवादीलाई चुनाव परिणामसम्बन्धी भयका कारण भाग नलिएको हो भन्ने तर्क राखेँ।
क्यामेरा ‘अफ’ भएपछि त्यहीँ बार्दलीको डिलमा चिया पिउँदै मैले सोधे, “बाबुरामजी, राजासँग तपाईंहरू त्यति तर्सनुपर्ने अवस्था छ र? मलाई त अब राजा केही गर्न सक्ने अवस्थामा छन् जस्तो लाग्दैन।’
उनले मेरो भनाइ स्विकार्दै भने, ‘‘हो, खतरा त कहाँ छ र !’’ यसको मतलब जे–जति क्यामेरालाई भने त्यो सुनाउनका लागि मात्र रहेछ। अरू दलका नेताहरूले भन्दा पनि सिपालुसँग विश्वासिलो ढङ्गले असत्य कुरा निर्धक्क प्रस्तुत गर्ने क्षमता रहेछ बाबुरामजीको।
त्यही कुरैकुरामा बाबुरामजीले अल जजिराको प्रश्नकर्तालाई पनि सुनाउँदै अर्को कुरा पनि भने, ‘‘कनकजी, तपाईको पाटनढोकैमा हामीले जनयुद्धको तयारी गरेका थियौं, थाहा छ होइन?’’