दुई छोरीले निभाए जन्मदाताप्रतिको कर्तव्य

Safalkhabar

छोरा पाउँदा मख्ख पर्ने हाम्रो समाजको रीतिस्थिति र परम्परालाई यहाँका दुई छोरीले चुनौती दिएका छन्। 

छोरा नभए पनि आमाप्रति जीवित हुँदा र मृत्यु भएपछि छोराले गर्नुपर्ने सबै व्यवहार देखाएर उनीहरु समाजका लागि अनुकरणीय बनेका हुन्। 

पोखरा महानगरापलिका–१७ पाण्डवटोलस्थित उनीहरुले आमा तिलकुमारी ढकालकोे जीवित हुँदा स्याहारसुसार त गरे नै मृत्युपश्चात् अन्तिम संस्कार पनि गरेका छन्। जन्मदिने आमाप्रति छोरी अप्सरा ढकाल र तुलसी ढुङ्गानाले यो कर्तव्य निभाएका हुन्। 

विसं २०६१ फागुन ७ गते दुर्घटनामा परी एउटा खुट्टा गुमाएकी आमा ढकालको जीवित भएसम्म उपचारदेखि पालनपोषण गरेर सन्तानले आमाप्रति गर्नुपर्ने दायित्व पूरा गरेका छोरीहरुले मृत्यपछि गरिने संस्कार पूरा गरेका हुन्।

उमेरले ४२ वर्षीय अविवाहित कान्छी छोरी अप्सराले सेतो पहिरनमा रही नियमित काजकिरिया गरिरहेका छन्। विवाह भएर पनि आमासँगै रहँदै आउनुभएकी जेठी छोरी तुलसी किरियामा बसेकी छन्। 

'छोरा वा छोरी दुवै बराबरी हुन् छोरा नभएर के भयो त मैले छोराले गर्ने सबै काजकिरियाको संस्कार गरेकी छु' उनले भनिन्, 'यो नै हुनु पर्छ भन्ने हाम्रो समाजको नकारात्मक सोच परिवर्तन गर्नु आवश्यक छ।'

उनीहरुले शारीरिकरुपमा अपाङ्ग आमाको जीवित अवस्थामा स्याहारसुसारलगायत सबै कुरा गरेको र मृत्युपश्चात् काजकिरिया पनि संस्कारअनुसार नै गरेको छिमेकी बताउँछन्। आमाको ७८ वर्षको उमेरमा यही माघ २० गते आप्mनै निवासमा निधन भएको हो। रासस  

प्रकाशित मिति: : 2021-02-11 21:00:00

प्रतिकृया दिनुहोस्