तोरी र कोदो मात्र उत्पादन हुने बलौटे खेतमा कागती खेतीगर्न थालेपछि मोरङको लेटाङ ९ आहालेका बिनोदकुमार वस्तीको आर्थिक अवस्था बदलिएको छ। ३ विगाहामा वर्षभरि दुख गर्दा मुस्किलले ५५-६० हजार रुपियाँ कमाउने वस्ती कागतीको ब्यावसायिक खेतीमा लागेपछि ४ वर्षयता वार्षिक १५ लाख रुपियाँ आम्दानी गरिरहेका छन्।
वस्तीले आफ्नो नीजि जग्गामा मद्रासी जातको कागती खेती गरेका हुन्। उनले २०७० साल देखि कागतीकोे ब्यावसायिक खेती सुरु गरे। विरुवा रोपेको तेस्रो वर्ष देखि आम्दानी लिन थालेको उनको भनाई छ। वस्तीले भने – २०७३ मा ३० टन उत्पादन भयो। ०७४ मा ४० टन कागती निस्क्यो। २०७५ सालमा असिनाले चिचिला झारिदियो। त्यो वर्ष १० टन मात्र कागती उत्पादन भयो। यो वर्ष उनले ४० टन कागती निकालि सके। अझै ४-५ टन निस्किने वस्तीको भनाई छ।
३ बिगाहामा कागती खेती गरिरहेका वस्तीले अझै बजारको माग अनुसार कागती उत्पादन गर्न सकेका छैनन्। उनले भने – मेरा जस्तै बगान २ सय वटा जति भए भने बल्ल माग धान्न सकिन्छ। उनी आफै पनि काममा उत्तिकै खट्छन्। कामदारसँगै लागेर कागती टिप्छन् र बिक्रीका लागि इटहरी पुर्याउछन्। २ जना कामदारले वर्षभरिका लागि रोजगार पाएकाछन्। त्यस्तै १० जना कामदारले ४५ दिन रोजगार पाउँने गरेका छन्। दैनिक १० जना कामदारले डेढ टन कागती टिप्ने गरेको वस्तीको भनाई छ।
कृषक वस्ती
उनको आफ्नै गाडी छ। गाडीमा हालेर इटहरी पुर्याउछन् र बिक्री गरेर २÷३ बजे सम्ममा बगान आइ पुग्छन् । बजारको अभाव नभएकोले मूल्य नपाउने चिन्ता छैन। उनले भने – विराटनगर, धरान र काठमाडौं देखि पनि कागती माग्दै आए। तर, दिन सकेको छैन। कागतीको अथाहा बजार भए पनि उत्पादन गर्न नसकेको वस्तीले बताए। माग उच्च भएपछि उनले कागती खेती बिस्तार गर्न २० हजार बिरुवाको नर्सरी राखेका छन्। खेती बिस्तारसँगै मोरङका कतिपय स्थानीय तहले समेत बिरुवाको माग गरेकोले नर्सरी समेत बिस्तार गरिरहेको उनले बताए। सग्ला, राम्रा ठूला दाना कागती बिक्रीका लागि बजार पुर्याउछन् भने साना दाना कागती अचारका लागि स्थानीय घरेलु उद्योगले लाने गरेका छन्। अचार उद्योगका लागि लेटाङ नगरपालिकाले सहयोग गरिरहेको छ।
कागती खेतीबाट राम्रो आर्थिक लाभ लिइरहेको देखेपछि वस्तीका छिमेकी वीरभक्त राईले पनि ३ विगाहामा नै ब्यावसायिक कागती खेती सुरु गरेका छन्। जाँतेको रुखो खेतमा बाली चयन गर्न सक्दा राम्रो आर्थिक लाभ लिन सकिने उदाहरण प्रस्तुत गरिरहेका वस्तीलाई सिंचाईको समस्या छ। तर , तीन तहका सरकार भए पनि वस्तीको पौरखलाई कुनै सरकारले नजीक बाट हेर्न भ्याएका छैनन्।