ऋषि धमलाले भने- जनता जान्न चाहन्छन् भन्दै मास मतिर झुम्मिएपछि नारायणकाजी रिसाउनुभो

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड समूहले आयोजना गरेको आमसभाको मञ्चबाट सो पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले पत्रकार ऋषि धमलाको नामै लिएर थर्काएका छन्।

नारायणकाजीले भाषण गर्दागर्दै रोकिएर आक्रोशित मुद्रामा पत्रकार धमलालाई माइकबाटै कराएका थिए। ‘पत्रकार साथीहरु हामी यहाँ सभा सञ्चालन गरिराखेका छौँ। तपाईंहरु त्यहाँ चूप लागिदिनुस्’, नारायणकाजीले आक्रोशित हुँदै माइकमा कराए, 'ऋषि धमलाजी ! ऋषि धमलाजी !! तपाईं त्यहाँ अर्को कार्यक्रम नगर्नुस्। चुप लाग्नुस्। तपाईं चुप लाग्नुस्।’

आमसभामा नारायणकाजी किन त्यसरी कराएका थिए त ? प्राइमटाइम टीभीका अध्यक्ष समेत रहेका चर्चित टक शो 'जनता जान्न चाहन्छन्' का प्रस्तोता धमलाले बिएल नेपाली सेवासँग भने, 'म जानासाथ भीडमा मान्छेहरु ‘जनता जान्न चाहन्छन्’ भन्दै चिच्याएर मतिर झुम्मिए। मसँग सेल्फी लिन थाले। म त्यहाँबाटै कार्यक्रम गर्ने कि भन्ने सोच्दै थिएँ। भीडले मलाई रेस्पोन्स गरेपछि उहाँको भाषण सुन्न बाधा भयो भन्ने लाग्यो होला। त्यसैले रिसाएर कराउनुभएको होला।’ धमलाले हाँसेर सुनाए।

नारायणकाजीको आक्रोशपछि भीडबाट निस्केर हिँडेका थिए पत्रकार धमला। उनलाई नारायणकाजीले त फोन गरेनन् तर प्रचण्ड र माधव नेपालले फोन गरेर के भएको भन्दै माफी मागेको उनले बताए। ‘नारायणकाजीले त फोन गर्नुभएको छैन, प्रचण्ड र माधव नेपालले फोन गरेर सरी भन्नुभो’, पत्रकार धमलाले भने, ‘पम्फा भुसालले पनि फोन गर्नुभयो।’

प्रकाशित मिति: : 2021-02-11 06:49:00

प्रतिकृया दिनुहोस्