पत्नीको उपचारका लागि केही महिनादेखि राजधानीमा भौंतारिरहेका जुम्ला तातोपानी गाउँपालिकाका रामसिंह रोकाय बुधबार बिहान सुन्धारास्थित आफन्तको डेरामा थकाइ मार्दै थिए।
पत्नीको जीवन रक्षा र उनको उपचार खर्चको जोहोलाई लिएर टोलाइरहेका रामसिंह अचानक सडकमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध लागेका चर्का नाराले झस्किए। उनी डेरामा थामिन सकेनन्। हतारहतार सडकमा निस्किए।
एकातिर दैनिक हजारौँ सवारी साधन गुड्ने सडक प्रहरीले रित्तो बनाउँदै थियो। यात्रुहरु तितरबितर भए। बिरामी मुत्यु जित्दै पैदल अस्पताल आइरहेका थिए। वृद्धवृद्धाहरु हतासमा देखिन्थे। बालबालिकालाई रमिता लागिरहेको थियो।
अर्कोतिर ओलीविरुद्ध आन्दोलित नेकपाका नेता तथा कार्यकर्ताहरुको जुलुस विभिन्न नारासहित अघि बढ्दै थियो। जुलुसको अग्रपंक्तिमा ओलीबाट हालै अलग भएका पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठलगायत नेताहरु देखिए।
रामसिंहले न ती नेताहरुलाई चिने न त्यहाँ लगाइएका नाराहरु नै ठम्याउन सके। तर उनले आफ्नो आँखाबाट जुलुस ओझेलमा परेपछि आफ्नो असन्तुष्टिको पोको खोल्न थाले।
किन त? उनको जवाफ भन्दा पनि प्रश्न ओहोइरियो। रामसिंहको प्रश्न थियो,‘यस्ता जुलुस कति भए होलान् यो देशमा? हामी जनताको दुःख टर्यो त? के हामीले सुख पायौँ त?’
पार्टीको झगडाले देशमा फेरि समस्या भएको उनले कतै सुनेका थिए। उनका प्रश्नहरु अझै रोकिएका थिएनन्, ‘नेताहरुले आफ्नो झगडा कोठामा बसेर मिलाउने होइन र? यसरी जनतालाई दुख दिएर सडकमा तमासा गर्न मिल्छ?’
रामसिंह जस्ता सयौँले बुधबारको जुलुस हेरे सडकमा लामवद्ध भएर। फेरि दैनिक जसो सडकमा देखिन थालेका जुलुस उनीहरुलाई उस्तै लाग्छ।