ठडियो धरहराको २१ तला

एक तला निर्माण बाँकी, थपिएको नौ महिनामध्ये अबको पाँच महिनामा सबै पूर्वाधार सम्पन्न गर्नु चुनौतीपूर्ण

१२ वैशाख २०७२ को भूकम्पले नौतले धरहरा ध्वस्त बन्यो । पुरानो धरहराको भग्नावशेषलाई त्यहीँ राखेर नजिकै २२ तले नयाँ धरहरा बन्दै छ । जसमध्ये २१ तलाको ढलान सकिएको छ । अब एक तला ढलान गर्न मात्र बाँकी छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निर्माण गरिरहेको धरहराको काम अन्तिम चरणमा पुगेको छ । ९० प्रतिशत काम सकिएको प्राधिकरणले जनाएको छ ।

‘धरहराको हाल २१ तला निर्माण भइसकेको छ भने १९ तला प्लास्टरको काम भएको छ । ट्रिपल बेसमेन्ट, संग्रहालय निर्माणलगायतको काम भइरहेको छ,’ प्राधिकरणका विज्ञ इन्जिनियर राजुमान मानन्धरले भने, ‘९० प्रतिशतभन्दा बढी काम सम्पन्न भएको छ ।’ भुइँतलासहित २४ तला हुने धरहराको अन्डरग्राउन्डमा रहेको डबल बेसमेन्टको काम सम्पन्न भई ट्रिपल बेसमेन्टको काम पनि आधा सकिएको छ । जसमा चार सयवटा सानो गाडी र सात सयवटा मोटरसाइकल पार्किङ गर्न मिल्नेछ । लिफ्ट राख्ने काम पनि सुरु भएको छ । कोरोनाका कारण कामले गति लिन नसक्दा समयमै निर्माण सम्पन्न गर्न नसकिएको उनको भनाइ छ । २२ टुक्रामा परिणत भएको गजुरलाई पनि पहिलाकै जस्तै बनाउन गत सोमबारदेखि काम थालिएको छ । जुन गजुरमा सुनको जलपसमेत लगाइनेछ । 

दुई वर्षमा निर्माण सम्पन्न हुने गरी २०७५ मा रमन कन्स्ट्रक्सनसँग सम्झौता भएको थियो । सोही वर्षको कात्तिकदेखि कन्स्ट्रक्सनले काम सुरु गरेको थियो । सम्झौताअनुसार गत २० असोजभित्र धरहराको सम्पूर्ण निर्माण कार्य सम्पन्न गर्नुपर्ने थियो । तर, कोरोना महामारीका कारण लकडाउन हुँदा निर्माण कार्य प्रभावित भएको भन्दै कन्स्ट्रक्सनले २१ महिना थप समय माग गरे पनि प्राधिकरणले नौ महिना समय थपेको छ ।

गत असोजमा प्राधिकरणले नौ महिना समय थप गरिदिएको थियो । तर, थपिएको समयमा पनि काम सम्पन्न गर्न चुनौतीपूर्ण रहेको विज्ञ इन्जिनियर मानन्धरले बताए । ‘पाँच महिनामा काम सम्पन्न गाह्रो छ । बगैँचा बनाउने, बाटो बनाउनेदेखि काम अझै बाँकी छ,’ उनले भने, ‘दिनको दुई, तीन सिफ्ट काम गरेर, रातारात चार–पाँच सय कामदार राखेर गरियो भने काम सकिएला, होइन भने अहिले भएकोजस्तो सयजना कामदार राखेर गर्दा समयमा काम सम्पन्न हुँदैन ।’ धरहराको कुल लागत भ्याटसहित तीन अर्ब ४५ करोड रुपैयाँ छ । धरहरा निर्माण कार्यमा लकडाउनअघि कुल तीन सय ५० जनाले काम गरेका थिए । लकडाउन अवधिमा त्यो संख्या घटेर २०-२५ जनामा सीमित भएको थियो ।

प्रकाशित मिति: : 2021-02-10 19:37:00

प्रतिकृया दिनुहोस्