प्रकाश न्यौपाने
रुपन्देहीको भैरहवास्थित सिद्धार्थ रंगशालामा भोलिदेखि नेपाल टेलिकम रुपन्देही सुपर लिग प्रतियोगिता हुने भएको छ।
रुपन्देही क्रिकेट संघको आयोजनामा हुने उक्त एक दिवसिय प्रतियोगिता माघ २८ देखि फागुन २९ गतेसम्म चल्ने संघका अध्यक्ष प्रशान्त विक्रम मल्लले जानकारी दिए। विगत ६ वर्षदेखि नेपालमै डिभिजन फर्मेटमा हुने यो पहिलो प्रतियोगिता हो।
आयोजकले मंगलबार भैरहवामा पत्रकार सम्मेलन गरी प्रतियोगितामा जिल्ला भित्रका ए डिभिजनका ८ र बी डिभिजनका १२ गरी २० टिम सहभागी हुने जनाएके छ।
आयोजकका अनुसार सुरुमा बी डिभिजन १२ टिमबीच प्रतिस्पर्धा गराइनेछ। त्यसबाट उत्कृष्ट ४ टिम ए डिभिजनमा उक्लिनेछन्। त्यसपछि ए डिभिजनका १२ टिमबीच प्रतिस्पर्धा हुनेछ।
संघका अध्यक्ष मल्लले प्रतियेगितामा नेपालका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेट खेलाडीहरु पनि खेल्ने जानकारी दिए। लिगका उत्पादन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलहरु खेलिसकेका छन्।
प्रतियोगितामा बी डिभिजनका शंकर नगर क्रिकेट क्लब, ज्ञानोदय, बुटवल राइनोज, वेष्टर्न, गोलपार्क, बुटवल युथ, साई ग्लोबल, तिलोत्तमा, लुम्बिनी कासाई, सैनामैना, प्रोफेसनल मास्र्टस, स्टार क्रिकेट क्लब सहभागी छन्। यस्तै ए डिभिजनबाट देवदह क्रिकेट युनिट, न्यू होराइजन, बुटवल ११, तिरुपति, लुम्बिनी खुकुरी, बुद्ध स्पोटर््स, जिआर र एमसीसी क्रिकेट क्लब सहभागी हुनेछन्।
करिब १२ लाख रुपैयाँ खर्च लाग्ने प्रतियोगिताको विजेताले ८० हजार रुपैयाँ र ट्रफी तथा उपविजेताले ४० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन्। यस्तै, म्यान अफ द सिरिजलाई १५ हजार, बेष्ट ब्याट्सम्यान, बेष्ट बलर र उदयीमान खेलाडीलाई ५÷५ हजार रुपैयाँ प्रदान गरिने संघका सचिव संजय गुरुङले बताए। प्रत्येक दिनको म्यान अफ द म्याचलाई १ हजार रुपैयाँ प्रदान गरिने छ। प्रतियोगिताको सबै तयारी पूरा भएको आयोजकले जनाएको छ।