अमेरिकामा नेपालीको तीन भ्रम

नेपाल जस्तो गरिब देशबाट अमेरिका आउन पाउनु सबैको लागि भाग्य र अवसर दुबै हो। नेपालभन्दा यता नेपालीको जीवन स्तर सम्पन्न हुने हुँदा हरेक नेपालीको सपना अमेरिका आउने हुन्छ। तर, जुन उद्धेश्य बोकेर यहाँ आउने गरिन्छ, त्यो सबै पुरा हुन्छ भन्ने छैन। त्यसैले जसले यहाँ आएर उन्नती–प्रगती गर्न सक्दैन उनीहरु खुरुक्क नेपाल फर्के हुन्छ।

अमेरिका टेक्दैमा आफूलाई बिशेष र अर्कै ग्रहबाट आएको सम्झिने मान्यबरले एकपटक ऐना अगाडी उभिनु धेरै अर्थमा सान्दार्भिक मानिन्छ। किनभने ऐनाले कहिले झुट बोल्दैन। छाप्रोमा मालिक भएर बस्ने कि महलको नोकर भएर बस्ने भन्नेमा मान्छे अनुसारको छनोट हुनसक्छ। तर प्राय: नेपालीका लागि अमेरिका महलको नोकर झै हो। यद्धपि स्वीकार गर्नु वा नगर्नु अर्कै कुरा हो। मैले अमेरिकामा चिनेका तथा परिचय भएका केही नेपालीमा निकै ठूलो भ्रम छ। केही अपवादलाई छोडेर कुरा गर्ने हो भने यहाँ भ्रममा रमाउने धेरै छन्। यस्तै केही भ्रमलाई चिर्ने प्रयास यहाँ म गर्दैछु। 

भ्रम नम्बर एक: टेक्सासमा बसोबास गर्ने एक मान्यबर छन्। उनी तीन वटा ग्यास स्टेसन (पेट्रोल पम्प) का मालिक हुन्। उनलाई कुनै पनि समय फोन गरेर के गर्दै भनेर सोधियो भने ‘रेडिमेड’ उत्तर आउने गर्छ,‘ खैरे  (गोरा)हरुलाई तह लगाउँदै।’ अर्थात मेरो कामदार यतैका सेतो छाला भएका मान्छे छन्।

सेतो छाला भएका स्वत: उत्कृष्ट प्राणी हुन्छन् भन्ने मान्यता राख्ने धेरै मान्छे छन्। उनी पनि यही मान्यता राख्छन्। सेतो छाला भएको मान्छेले काम गर्दैमा कुनै संस्था उच्चकोटीको हुने हो भने बेग्लै कुरा हो तर प्रबुद्ध पाठकवर्गले आफै अनुमान लगाउने कुरा एउटा नेपालीले सञ्चालन गरेको स्थानमा घन्टे काम गर्न आउने मान्छे कुन स्तरको होला? उनका कामदारहरुको छाला मात्र सेतो हो। त्यो बाहेक अरु कुनै प्रकारको सामाजिक र आर्थिक हैसियत छैन। तर यी मान्यबर भने सेतो छाला भएको मान्छेलाई काम लगाउन पाए भनेर भ्रमको समुन्द्रमा पौडी खेलिरहेका छन्।

भ्रम नम्बर दुई: मेरिल्याण्डमा यस्तै अर्को मान्यबर बसोबास छन्। नेपालमा दिउँसो र यहाँ राती भएको समयमा नेपालमा बिभिन्न मान्छे (अधिकांस महिला) सँग फोनमा कुरा गर्ने र उनीहरुलाई अमेरिका ल्याउँछु भनेर गफ ठोक्नु उनको दिनचर्या नै हो। यस्तो गफ गर्न उनी यतैबाट नेपालमा महिलाहरुको फोन रिचार्ज पनि गरिदिन्छन्।

यस्तो गतिविधिले उनलाई एकछिन त मनोरञ्जन प्रदान गर्ला तर तपाईंहरु आफै अनुमान लगाउन सक्नुहुन्छ कम्प्युटरको एक क्लिकमा संसारको हरेक बिषय र नियमकानुन पत्ता लगाउन सक्ने समयमा, कसैले अमेरिका लग्छु भनेकै भरमा खुशी वा प्रभावित भएर रात दिन गफ गर्ने मान्छेको बौद्धिक स्तर कस्तो होला?  यस्ता मान्छेसँग नियमित गफ गर्नेको पनि बौद्धिक स्तर के होला? मैले आज यस्तो र उस्तो गफ गरे भनेर अरुसँग कुरा सुनाउन पाउँदा ठूलै युद्ध जिते जस्तो गर्ने यी मान्यबरले आफू अरुको अगाडी नाङ्गो भएको महसुस गर्दैनन् कि क्या हो! कि उनीहरुसँग त्यस्तो महसुस गर्नसक्ने मस्तिष्क नै हुँदैन कि?  उनी पनि आफूलाई महिलाहरुको प्रिय र कामदेबको अर्को अवतार सम्झेर मन मनै खुशी छन्। अर्थात ठूलो भ्रममा छन्।

भ्रम नम्बर तीन: छ पटकमा एसएलसी परीक्षा उत्तिर्ण गरेर बढो कठिनाइका साथ सरस्वती क्याम्पसको आँगनसम्म टेक्न पाएका अर्का महापुरुष छन्, न्यु हेम्पसायरमा। उनी यो राज्यमा बस्नुको कारण नजिकै रहेको मासचुसेट राज्यमा भएको मासचुसेट इन्स्टिच्युट अफ टेक्नोलोजी (एमआईटी) र हार्वर्ड युनिभर्सीटी हो। घर नजिक जतिसुकै उच्च स्तरीय शैक्षिक संस्था भए पनि त्यो स्थानमा गएर अध्ययन गर्न त्यो ब्यक्तिमा बौद्धिक र आर्थिक स्तर हुनु पहिलो सर्त हो। अब दुई वटै सर्त पुरा गर्न नसक्नेको घर यी शैक्षिक संस्था नजिक र टाढा हुनुको के अर्थ रहन्छ र? उसले सक्ने भनेको त्यी शैक्षिक संस्थाको साइनबोर्ड नजिक गएर फोटो खिच्नेसम्म मात्र हो।

नयाँ मान्छेलाई आफ्नो शैक्षिक योग्यताको बारेमा ठूलोठूलो कुरा गरेको कुरा मेरो कारणले खुलेपछि उनी मबिरुद्ध लागेका छन्। उनको हाल एकमात्र लक्ष्य मलाई अमेरिकाबाट बाहिर निकाल्नु हो। मानौ अमेरिका उनको दिंवगत पिताजीको बिर्ता हो। नेपाल छँदा वैदेशिक रोजगारीको ठगी मुद्दामा सर्बोच्च अदालतले साढे दुई बर्ष कैद र पाँच लाख रुपैयाँ जरिवाना सुनाए पनि भाग्यले नक्कली नागरिकता र पासपोर्टको आधारमा श्रीमतीलाई डिभी परेपछि उनी अमेरिका छिरेका हुन्। उनलाई आफ्नो अतित कसैलाई थाहा छैन भन्ने ठूलो भ्रम रहेछ। 

यी माथी उल्लेखित भ्रमहरु प्रतिनिधि पात्र मात्र हुन्। यस्ता विभिन्न् भ्रम पालेर अमेरिका बस्ने महामानवहरु धेरै छन्। अमेरिकामा बस्ने नेपालीको फाइदा भनेको उनीहरुको व्यक्तिगत मात्र हो।

कुनै नेपाली यता आए वा पुन: घर फर्किए भने अमेरिकी सरकारलाई यसले कुनै फाइदा वा हानी हुने होइन। आफ्नो क्षमता अनुसार काम गरेर दुनो सोझ्याउनु उचित हो। ठूलो ठूलो कुरा गर्नु समाजको अगाडी हाँसोको पात्र बन्नु मात्र हो। यस्तै हरेकको मुखमा झुण्डिएको एउटा बाक्य हो, ‘अमेरिकामा काम सानो वा ठूलो हुँदैन।’ यो भन्नु पनि ठूलो भ्रम हो। सामान्यतया जुन काम मा ‘टिप्स’ (बक्सिस) पाइन्छ, त्यो तल्लो स्तरको काम हो।

स्मरण रहोस ‘बक्सिस’ भनेको मालिकले सेबकलाई उसको सेवाबाट मन्त्रमुग्ध भएर ‘लौ गरी खा’ भनेर दिने दान हो। कसैले एक डलरको करिब एक सय १५ रुपैयाँ हुन्छ भनेर आँखा चिम्लिन्छ भने त्यो उसको व्यक्तिगत स्वतन्त्रता हुन् सक्छ। यही नै सर्बमान्य कुरा भने होइन।

 



नेपाली समाजका तीन मानसिक अवस्था

अमेरिकामा बसोबास गर्ने नेपालीको पाँच वटा चरित्र

 

 

प्रकाशित मिति: : 2021-02-09 07:17:00

प्रतिकृया दिनुहोस्