भागरथी हत्या प्रकरण : प्रहरीले निकाल्यो यस्तो निष्कर्ष, प्रमाणका लागि फरेन्सिक जाँच

लोकान्तर

काठमाडाै‌ं

तडीको दोगडाकेदार गाउँपालिकास्थित चडेपानीकी भागरथी भट्ट हत्या प्रकरणको अनुसन्धानका लागि प्रहरीले कपडा, रगत र ‘भेजाइनल स्वाब’ परीक्षणका लागि फरेन्सिक ल्याबमा पठाएको छ ।  

१७ वर्षीया भागरथीको गुप्ताङ्गबाट निकालिएको तरल पदार्थ अर्थात् ‘भेजाइनल स्वाब’, रगत, कपडालगायतका नमूना परीक्षणका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशाला काठमाडौं पठाएको हो । 

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी मुकेश सिंहले बलात्कारपछि हत्या गरिएको आशंकामा डीएनए परीक्षणका लागि स्वाब विधिविज्ञान प्रयोगशाला पठाएको बताए । 

‘अनुसन्धानमा थप सहयोग पुगोस् र बलात्कार भएको भए डीएनएमार्फत अपराधी पत्ता लगाउन सजिलो होस् भन्ने हिसाबले स्वाब परीक्षण गर्न पठाइएको हो,’ एसएसपी सिंहले  भने, ‘त्यससँगै भागरथीले लगाएका कपडा, रगत पनि परीक्षणका लागि पठाएका छौं ।’ 

प्रहरीका एक अधिकृतका अनुसार अनुसन्धानमा खटिएका प्रहरीले चिनजानकै व्यक्तिबाट हत्या भएको हुनसक्ने प्रारम्भिक निष्कर्ष निकालेका छन् ।

‘अहिलेसम्मको अनुसन्धानलाई हेर्ने हो भने चिनजानकै व्यक्तिबाट हत्या भएको निष्कर्षमा पुगेका छौं, तर सबै प्रमाण जुटिसकेको छैन,’ ती अधिकृतले लोकान्तरसँग भने ।

हत्या हुनुअघि बलात्कार भएको निष्कर्ष पनि प्रहरीले निकालेको छ ।

‘घटनाको प्रकृति हेर्दा बलात्कारपछि हत्या भएको देखिन्छ,’ ती प्रहरी अधिकृतले लोकान्तरसँग भने, ‘सबै कुरा पोष्टमार्टम रिर्पोट र फरेन्सिक ल्याबको रिपोर्ट आएपछि खुल्ला ।’

प्रकाशित मिति: : 2021-02-08 20:50:00

प्रतिकृया दिनुहोस्