सनातन धर्म माविमा पढ्ने किशोरी भागरथी भट्टमाथि भएको ‘अधर्म’ले गाउँ आक्रोशित छ, बैतडीको दोगडाकेदार गाउँपालिकाका सबै विद्यालय बन्द गरेर विद्यार्थी आन्दोलनमा छन् । तर, प्रहरीले चार दिनसम्म सुइँकोसमेत लगाउन सकेको छैन ।
बिहीबार साँझ करिब ७ बज्दै थियो, जिल्लाको दोगडाकेदार गाउँपालिकानिवासी परिचित शिवराज भट्टले फोन गरे । ‘मेरी भतिजी भागरथी भट्ट, १७ वर्षकी, हिजोदेखि हराइरहेकी, आज त चडेपानी गाउँ तलको लवलेक जंगलमा शव फेला पर्यो, बलात्कार भएको छ । बीभत्स छ शव,’ यस्तै पूर्ण हतासामा रहेका उनले यस्तै अपूर्ण वाक्यमा आफ्नो भनाइ टुंग्याए ।
चिसो मात्र थियो, अँध्यारो भइसकेको थियो, बाहिर पानी पनि पर्न सुरु भइसकेको थियो । आफ्नै जिल्लामा यति ठूलो अपराध भएको खबरले ज्यानमा झन् चिसो पानी खन्याएजस्तो भयो ।
मैले तुरुन्तै स्थानीय खोचलेक प्रहरी चौकीमा सम्पर्क गर्न प्रयास गरेँ । जिल्ला सदरमुकामा गोठालापानीबाट करिब ३३ किलोमिटर पूर्वउत्तरमा रहेको प्रहरी चौकीमा फोन नै लागेन । खासमा प्रहरी चौकीमा रहेको टिनको छाप्रो पनि नेपाल प्रहरीको आफ्नै होइन । मासिक भाडा तिरेर प्रहरी बसिरहेको छ । त्यसले नै बताउँछ, जिल्लाको विकास । तर, त्यही क्षेत्रमा भारतीय सिमको नेटवर्क भने चल्छ । जब कि त्यहाँबाट भारतीय सिमाना करिब ६० किलोमिटर तल छ ।
प्रहरी कार्यालयमा कसैको पनि फोन लागेन । त्यसैले यो विषयमा थप स्पष्ट हुन स्थानीयलाई फोन लगाउने प्रयास गरेँ । संयोगले एक स्थानीयको भने फोन लाग्यो । उनले भने, ‘हो, भागरथी अघिल्ला दिनदेखि नै हराइरहेकी हुन् । उनका आफन्तले तत्कालै प्रहरीमा उजुरी पनि गरेका हुन् । तर, प्रहरीले भोलि खोजौँला भनेर पठाइदिए । तर, आज लास मिल्यो भनेर गाउँलेले खबर गरेपछि प्रहरी घटनास्थलमा आएको छ ।’
जिल्ला प्रहरी कार्यालयका डिएसपी नारायण अधिकारीलाई फोन गरेँ । उनले भने, ‘शव भेटियो भन्ने खबर आएको छ । म आफैँ नै अहिले घटनास्थलमा जाँदै छु ।’ जिल्ला प्रहरी प्रमुखले नै कोट दिएपछि मैले सो दिन आफ्नो सञ्चारगृहका लागि समाचार तयार पारेँ ।