राष्ट्रपति वाइडेनले भने– पूर्व राष्ट्रपति ट्रम्पलाई गोप्य सूचना उपलब्ध गराइने छैन 

तस्वीर: एजेन्सी
तस्वीर: एजेन्सी

अमेरिकी राष्ट्रपति जो वाइडेनले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई विश्वास गर्न नसकिने भन्दै उनलाई गोप्य सूचना उपलब्ध गराउन छोडिएको बताएका छन्। वाइडेनले ट्रम्पको व्यवहार सबैलाई दुःख दिने खालको भएकै कारण उनलाई विश्वास गर्न नसकिने बताए। 

अमेरिकाको राजनीतिक परम्परा अनुसार वर्तमान राष्ट्रपति सरह पूर्व राष्ट्रपतिलाई पनि ‘इन्टेलिजेन्स’ सूचना उपलब्ध गराउने चलन छ। तर, ट्रम्पको व्यवहार हेरेर उनलाई यो सूचना उपलब्ध गराउन नसकिने वाइडेनले बताए। 

सीबीसी च्यानललाई दिएको अन्तर्वार्तामा वाइडेनले ट्रम्पविरूद्ध नराम्रो टिप्पणी गर्दै भने, ‘हामी कहाँ पूर्व राष्ट्रपतिलाई इन्टेलिजेन्स बिफ्रिङ गराउने परम्परा छ। तर, अब यो परम्परा दोहरिने छैन। उनले माग गरे भने पनि हामी सूचना उपलब्ध गराउने छैनौ।’
उनले ट्रम्पलाई गोप्य सूचना उपलब्ध गराउनुपर्ने कुनै आवश्यकता नभएको पनि बताए। उनले ट्रम्पको जिब्रो फुस्किने समस्याका कारण सुरक्षामा खतरा हुने गरेको टिप्पणी गरे। 

अमेरिकी परम्पराअनुसार पूर्व राष्ट्रपतिले माग गरेको खण्डमा उनलाई पनि गोप्य ब्रिफिङ गराउने चलन छ। वाइडेनको यो प्रतिक्रिया राजनीतिक ‘स्टण्ड’ देखिन्छ। किनभने ट्रम्पले अहिलेसम्म यस्तो कुनै सूचनाको आवश्यकता महसुस गरेका छैनन्। 

सीएनएनको रिपोर्टअनुसार ट्रम्प राष्ट्रपति हुँदा पनि गोप्य ब्रिफिङ सुन्दैन्थे। अमेरिकामा हरेक दिन राष्ट्रपतिलाई ह्वाइट हाउसमा ब्रिफिङ सुनाउने चलन छ। तर, ट्रम्प सातामा दुईदेखि तीन पल्टमात्र ब्रिफिङ सुन्ने गर्थे। 

६ जनवरीमा अमेरिकाको संसद भवनभित्र भएको घटनापछि ट्रम्पलाई खलनायकको रुपमा चित्रण गर्ने चलन बढेको छ। यो घटनामा एक महिला र पुलिससहित पाँच जनाको निधन भएको थियो।

ट्रम्पविरूद्ध महाभियोगको प्रक्रिया पनि सुरु भइसकेको छ। उनलाई ८ फेब्रुअरीमा बयानका लागि सिनेटमा बोलाउने सम्भावना पनि प्रबल छ।

प्रकाशित मिति: : 2021-02-07 07:03:00

प्रतिकृया दिनुहोस्