‘राजनीतिमा फोहोर छ भनेर ढोकाबाट हेर्ने होइन, भित्रै पसेर सफा गर्ने हो’

नेपाल लाइभ

काठमाडाै‌ं

देशको भविष्य जोडिएको हुन्छ, राजनीतिमा। तर यतिबेला राजनीति ‘हजुरबा पुस्ता’का नेताहरुको व्यंग्य–कला प्रस्तुत गर्ने रङ्गमञ्च जस्तै बनेको छ। त्यो रंगमञ्चमा रोमाञ्चित हुने र नहुने आ–आफ्नै पंक्ति छन्। एउटा युवा समूह त्यसमै रोमाञ्चित भएर थपडी बजाउँदै बसेको छ। युवा उमेरकै अर्को ठूलो समूह जीवनको रङ–रमाइलोमै मस्त छ, जसलाई देश–समाजमा हुने यस्ता कुनै उतारचढावले छुँदैन। 

यसको अर्थ वर्तमान पुस्ता राजनीतिक ‘तमासा’को दर्शक वा यसप्रति बेखबर मात्रै छ भन्ने होइन। आरती लामा जस्ता केही युवा राजनीतिज्ञ छन्, जो रङ्गीन पहिरन लगाएर रमाइलो गर्ने उमेरमा ‘कालो पहिरन’मा सडक तताइरहेका छन्।  नेकपानिकट विद्यार्थी संगठन, अनेरास्ववियुकी नेतृ लामाले कालो पहिरन लगाउन थालेको १ महिना २० दिन भयो। उनी निरन्तर सडकमा आएको पनि त्यति नै समय भएको छ।

प्रतिनिधि सभा विघटन विरुद्धका हरेक आन्दोलनमा कालो पहिरन लगाइरहेकी छन् आरती। सुरुमा संयोग बन्यो, पछि उनले कालै लगाउने अठोट लिइन्। कालै पहिरन लगाएर जुलुसमा निस्कनुपर्छ भन्ने महसुस हुनुको कारण चाहिँ प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने सभामा कालो मास्क र टोपीमा प्रतिबन्ध लगाउने घोषणाले उद्वेलित पार्नु थियो। ‘प्रधानमन्त्री सहभागी हुने सभामा कालो मास्क र टोपीमा प्रतिबन्ध लगाउन थालियो। देशलाई अँध्यारो सुरुङतर्फ डो¥याइरहेका उहाँलाई अँध्यारो (कालो) रङप्रति त्रास रहेछ’, आरतीले सुनाइन्।

प्रकाशित मिति: : 2021-02-06 09:49:00

प्रतिकृया दिनुहोस्