भा’को एउटा जाली रुमाल फूल भरेको छैन
के लैजान्छौ सानु तिम्ले पिरतीमा बैना
हे बरै…..
सालको पात टपरी हुने हे बरै, नहुने सल्लैको … ।’
ठेट लोकभाकाको यो गीतले बिहे कार्जेदेखि मेलापातसम्म संगीतमय बनाइदियो । विष्णु माझी र कुलेन्द्र विश्वकर्माको यो गीत लोकले यति रुचायो कि अहिलेसम्म पनि यसको मधु कम्पन उस्तै छ ।
गीत दुई वर्षअघि सार्वजनिक भएको हो । नवराज पन्तले लेखेको गीतलाई वसन्त थापाले धुन भरेका हुन् । गीतको भिडियो अहिलेसम्म युट्युबमा ६ करोड ६७ लाख बढी पटक हेरिएको छ ।
गीत सार्वजनिक भएपछि कुलेन्द्र पोखराको लेखनाथ महोत्सवमा पुगेका थिए । स्टेजमा उक्लिएर उनले भाका हाले, ‘सालको पात टपरी हुने… ।’
उनीसँगै स्वरमा स्वर मिलाएर दर्शकहरु नाच्न थाले । गीत सकियो, दर्शकको रहर सकिएन । उनीहरु चिच्याए- वान्स मोर । कुलेन्द्रले फेरी गाए, तर दर्शकलाई पुगेन- वान्स मोर । उनले तीन, चार, पाँच, छ, सात, आठ पटक यही गीत सुनाए । उनी भन्छन्, ‘एउटा कार्यक्रममा आठ पटक गाउनुपरेको सम्भवतः यही गीत होला ।’
गीतको प्रसंग एकछिन थाती राखौं । किनभने यो प्रसंगमा कुलेन्द्र विश्वकर्मालाई खोतल्नु छ । जीवनको बक्ररेखामा दौडदै उनी कसरी गायक बने ?