मुलुकमा यसपाली जाडो याममा चिसोको प्रभाव औषतभन्दा कम रहेको छ।
गत वर्ष मुलुकका पहाडी क्षेत्रका केही उच्च भेगमा हिमपात भएको थियो तर यसपाली अहिलेसम्म त्यो अबस्था देखिएको छैन।
यस वर्षको हिउँदमा बर्षाको अबस्थासमेत अत्यन्त न्युन रहेको मौसमविद्ले बताएका छन्। हिउँ परेर चिसो हुने यस मौसमा मुलुकमा तापक्रम औषतभन्दा बढी नै रहेको जनाइएको छ।
मौसमविद् तथा वैज्ञानिकले यस वर्षको जाडो याममा औसतभन्दा बढी नै तापक्रम रहने विवरण सार्वजनिक गरेका थिए।
दक्षिण एसियाली जलवायु आँकलन मञ्चले हरेक वर्ष हिउँद र वर्षाको समयमा यसैगरी हावापानी र जलवायुको अवस्था विश्लेषण गर्दै आएको छ।
उक्त अध्ययनले औसतभन्दा बढी तापक्रम (सुख्खा) रहने औँल्याएको थियो। सोहीअनुसार नै मौसम अघि बढेको देखिन्छ। मुख्यतः समुन्द्र र वायुमण्डलीयस्थितिको विश्लेषण गरेर निष्कर्ष निकालिने गरिन्छ। विभागका अनुसार गत वर्ष नेपालको पूर्वीभेगमा औसतभन्दा बढी चिसो भएको थियो भने अन्य क्षेत्रमा औसत अवस्था मै रहेको थियो।
यद्यपि आजबाट भने पश्चिमी न्युन चापीय प्रणालीका प्रभावका कारण मौसम बदली भएसँगै हिमाली क्षेत्रमा हिमपात भइरहेको छ भने पहाडी भेगका केही क्षेत्रमा हल्का वर्षा भएको छ। तराई क्षेत्रमा भने बाक्लो हुस्सुसहित शीतलहर छ । तर पनि बर्षाको औैषत अबस्था कम नै रहेको मौसमविद्को भनाइ छ।
मौसमविद् निराजन सापकोटा पश्चिमी वायुका कारण प्रणाली परिवर्तन हुँदा यसपटक आइतबारसम्मै चिसो हुने र त्यसपछि विस्तारै खुल्ने बताउछन्। पश्चिमी वायु पाकिस्तान हुँदै भारतबाट नेपालमा जोडिन आएको हो। यो विस्तारै पुर्वउत्तर सरेर सकिने छ।
आज वाग्मतीदेखि सुदुरपश्चिमसम्म बदली छ। प्रदेश १ को पहाडी क्षेत्रमा बदली छ। शनिबार पश्चिमबाट सफा हुँदै आउने र पुर्वतर्फ बदली सर्नेछ। शनिबार पोखराबाट पुर्वसम्म बदली रहन्छ।
आज काठमाडौँमा तीन बजे आसपास पानी पर्न खोजेको थियो। फाट्टफुट्ट पानी परे पनि एक्कासी आएको हावाले उडाउँदा हिमालतिर सरेको उनी बताउछन्। हावाले बदलीलाई हिमाली क्षेत्रमा पठाउनु भनेको त्यसक्षेत्रमा बढी हिउँ पर्नु हो।
वायु दुई प्रकारको हुन्छ। पूर्वी र पश्चिमी। पूर्वी वायु बङ्गालको खाडीबाट आएको हुन्छ। त्यसले पानी बढी पार्छ। पश्चिमी वायु पाकिस्तानबाट भारत हुँदै नेपाल छिरेको वायु हो। यसपाली यस वायुमा जलवाष्पका कण न्यून रहेकाले वर्षा कम भएको हो। बढी जलवाष्प रहँदा बर्षा हुने गर्छ। जसले चिसो भित्र्याउँछ। हिमालमा हिउँ पर्नु पनि यही वायुको प्रभाव हो।
मनाङका जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकाल जिल्लाका धेरै स्थानमा बाक्लो हिमपात भइरहेको जानकारी दिन्छन्। उनका अनुसार कार्यालय परिसरमा समेत हिमपात भइरहेको छ। हिमपातका कारण हिमाली क्षेत्रमा हवाइ उडानसँग जनजीवन समेत प्रभावित छ।
युरोपको प्रशान्त महासागरमा तातो बढेकाले पनि त्यहाँबाट आएको पश्चिमी वायुमा जलवाष्पका कण कम हुन गएको मौसमविद् इन्दिरा कँडेलले बताएका छन्। उनका अनुसार जति वायु त्यताबाट आयो त्यो पनि हावाको दिशा परिवर्तनहुँदा सबै नेपालमा आउन सकेन। जसका कारण नेपालको मौसम अन्य वर्षभन्दा न्यानो बन्न पुग्यो। यसकै कारण हिउँदमा हुनुपर्ने जति बर्षा नभएको हो।
आज काठमाडौँमा न्युनतम तापक्रम ३ दशमलव ५ डिग्री छ। अधिकतम २० डिग्रीसम्म छ। विगतका वर्षमा भन्दा यसवर्ष तापक्रम औषतभन्दा बढी नै छ। पहिलेपहिले धेरै चिसो भएको थियो। गत वर्ष पनि यो मौसममा उच्च पहाडी क्षेत्रमा हिमपात भएको थियो। यसपाली भने आजसम्म त्यो अबस्था देखिएको छैन।
गएको डिसेम्बर २४ मा काठमाडौँमा १ दशमलव २ डिग्री तामक्रम थियो। डिसेम्बर ३१ मा काठमाडौँमा त्यो भन्दा कम (यसवर्ष कै सबैभन्दा कम) न्युनतम तापक्रम ० दशमलव ८ डिग्री पुगेको थियो। विगतको इतिहास हेर्ने हो भने सन् १९७८ फेब्रअरी ४ मा सबैभन्दा कम माइनस २ दशमलव ४ डिग्री तापक्रम पुगेको अभिलेख छ।
यसवर्ष जाडो मौसममा राम्ररी पानी परेको छैन। यो फ्रेब्रुअरी महिनामा दैनिक औषत वर्षा १८ दशमलव ७ मिलिमिटर हुनुपर्ने थियो। आज बर्षा १३ दशमलव ७ मिलिमिटर मात्रै छ उपत्यकामा आज मात्रै फाट्टफुट्ट पानी परेको छ। राती सामान्य वर्षाको सम्भावना भए पनि औषत बराबरको पानी पर्ने अबस्था नदेखिएको मौसमविद् बताउँछन्। सन् २०११ को फेब्रअरी १७ मा ३१ दशमलव ३ मिलिमिटरसम्म पानी परेको अभिलेख छ।
प्राप्त विवरणअनुसार राती देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र वाग्मती प्रदेशका पहाडी भूभागका धेरै स्थान तथा प्रदेश १ का केही स्थानमा हल्का वर्षाको संभावना रहेको छ। देशका उच्च पहाडी र हिमाली भूभागका धेरै स्थानमा हिमपातको भइरहेको र यो क्रम राती पनि रहने छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार शनिबार सुदुरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशका भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ।
प्रदेश १ का धरै स्थानहरु तथा प्रदेश २, वागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षाको संभावना रहेको छ। देशका उच्च पहाडी र हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना पनि रहेको विभागले जनाएको छ।
विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता जनार्दन गौतम चिसो थप बढेकाले सावधानी अपनाउन आग्रह गरेका छन्। उनले जाडोबाट जोगिनका लागि आगो ताप्दा विशेष ख्याल गर्न अनुरोध गरेका छन्। रासस