मनोज जोशी
सुनिथ्यो– दक्षिण एसियाली मुलुक बंगलादेशको राजधानी ढाकामा बढ्दो ट्राफिक अव्यवस्थाका कारण त्यहाँका थुप्रै स्थानीयले आफ्नो घरमा रहेका सवारीसाधन थन्क्याएर पैदल यात्रा गर्न थाले। समय बचतको हिसाबले सवारी साधन चढ्नुभन्दा पैदलै हिँड्नु किफायती भएपछि त्यहाँका स्थानीय एक्काइसौं शताब्दी छाडेर फेरि अठारौं शताब्दीतर्फ तानिन बाध्य भएका हुन्। हाल यही नियति हाम्रो सन्दर्भमा पनि लागू हुन थालेको छ। यस अर्थमा कि भानुभक्तले भोगेको अमरावती कान्तिपुरीको कथाव्यथा अझै सघन बन्दै गएको छ। भानुभक्तकै शब्दमा सिट २० भए भीड सौ तकको हिसाबमा त चलेकै छ त्यसमाथि सामाजिक अपचलन र मानव जातिमा फस्टाएको बेथितिले मानवीय मर्यादा झन्झन् धरापमा पर्दै गएको छ।
नवक्रान्तिका नाममा एउटा मट्टीतेल वा पेट्रोल हालेर बेरेको पुल्ठो, इँटाको टुक्रो बोकेर तथानाम नारा–जुलुस गर्दै हिँडेपछि इतिहासका महानायक अलेक्जेन्डरजस्ताको साहस पनि पछाडि पर्ने खालका गतिविधिले एउटा साम्राज्य खडा गराएको छ। परिवर्तन मानसिकतामा नभई परपीडामा फस्टाएको छ। अरूले दुःख पाउँदाको क्षणलाई उपलब्धि सम्झने नौलो सभ्यताको विकासमा आज एक समुदाय रमाइरहेको सहजै अनुमान गर्न सकिन्छ। लहडीमा बोकिएको एउटा इँटाको टुक्रा ठूलो कि रगत–पसिना गरी आफ्नो कमाइबाट किनेको सवारी साधन ? हामीलाई यो प्रश्नको सहज उत्तर पाउन कठिन छ।
घोचा, मुंग्रा, भाला अनि सडकमा टायर बाल्ने, नाराजुलुस गर्ने खेलमा जुन पार्टीका खेलाडी माहिर ठहर्छन्; विडम्बना तिनै दल वा व्यक्ति क्रान्तिको परिचायक ठहर्ने मान्यता स्थापित भएको छ। सानो स्वरमा बोल्नेले संसारको जतिसुकै सत्य कुरा बोलोस् न, त्यसको सुनुवाइ हुने ठाउँ कसैलाई थाहा छैन। लोकतन्त्रलाई थितिको शासन भनेर घोक्नेहरू आज आफ्नै घोकाइप्रति त्रसित छन्। समाजलाई स्थिर, अनुशासित र उत्तरदायी बनाउनुको सट्टा सधैं आन्दोलित र आम सर्वसाधारणलाई भयग्रस्त बनाउने अभ्यासमा राजनीतिकर्मीको शक्ति क्षीण भइरहेको छ। जनताका नाममा जनताकै भावनामाथि कुठाराघात गर्नु दैनिकी बनेको छ।