डडेल्धुरा जिल्ला अमरगढी नगरपालिका–७ तिलाडीका कैनी दलित समुदाय उद्यमी बन्दै गएका छन्।
परम्परागतरूपमा बनाइँदै आएका बाँसबेतका सामग्रीको बजारमा माग बढ्न थालेपछि पोखरा तिलाडीका करिब २०० परिवार अहिले व्यावसायिक रुपमा सो पेशा लागेका हुन्।
युवादेखि वृद्धवृदा अहिले बाँस निँगालो र बेतबाट दैनिक ¥याक, दराज, कुर्सी, चुरा राख्ने स्ट्याण्ड , चुरेटदानी तथा धार्मिकस्थलजस्तै बस्तु निर्माण गरेका हुन्। ती सामग्री जिल्लाबाहेक कैलाली, कञ्चनपुर, डोटी, बैतडी र बझाङसम्म बिक्रीवितरण गरिरहेका छन्।
अहिले गैरदलित समुदायसमेत बाँसबेतका सामग्री बनाउने पेशामा लागेको पोखरा–७ (तिलाडी) का रमेश कैनीले जानकारी दिए। उनले भने, 'यो पेशामा लागेको २० वर्ष भयो मासिक १५ देखि २० हजार यसै पेशाबाट कमाएको छु।'
पहिले महाभारतको लेकबाट निँगालो र बेत ल्याउने गरेको भए पनि केही समययता सामुदायिक वनले रोक लगाएपछि बझाङबाट कच्चा पदार्थ किनेर ल्याउने गरेको उनले बताए। अमरगढी नगरपालिका–७ का ती समुदायले आफ्नै गाउँमा जनकल्याण सहकारी संस्था लिमिटेड दर्ता गरेर व्यवसाय सञ्चालन गरिहेका छन् । पोखरा तिलाडीगाउँमा १०० दलित परिवार रहेका छन्। उनीहरु अहिले सहकारीमा आवद्ध भई सामूहिकरूपमा सामग्री निर्माण गरी बिक्री वितरण गर्ने गरिरहेका छन्।
सहकारी निर्माण गरेपछि बैंकबाट ऋण लिन पनि सजिलो भएको सिर्जनशील सहकारीका अध्यक्ष प्रेम कैनीले बताउनुभयो । सामग्री बिक्रीपछि केही पैसा सहकारीमा राख्ने गरेको समेत उहाँले जानकारी दिए।
आधुनिकता बढेसँगै निँगालो बाँसको काम गर्नका लागि आधुनिक उपकरण अभाव रहेको बताइएको छ। अध्यक्ष कैनीले भने, 'मागअनुसार सामग्री बनाउन समस्या छ। यसका लागि हामीलाई कुनै निकायबाट सहयोगको खाँचो छ।' डडेल्धुरा जिल्लाभन्दा बाहिरी जिल्लामा बाँसबाट बनाइएका सामग्रीको माग बढी रहेको भए पनि यातायात भाडादर महङ्गो भएकाले लैजान समस्या रहेको छ।
स्थानीयस्तरमा बनाइने सामग्री अहिलेसम्म पुरानै प्रविधिबाट काम गरिरहेकाले अब व्यावसायिकरूपमा अगाडि बढ्नका लागि नयाँ प्रविधि, ज्ञान सीप सिकाइ सहयोग आवश्यकता रहेको स्थानीय राजु कैनीले बताए। परम्परागत सीपलाई परिमार्जन गरी लक्षित समुदायसम्म पु¥याउनसके व्यवसाय व्यावसायिकरूपमा अगाडि बढ्न सक्ने स्थानीयवासीको भनाइ छ।
नगरपालिका प्रमुख विशेश्वरप्रसाद ओझाले कैनी समुदायका पेशा आधुनिकीरण गर्न तालिम तथा सहकारीलाई रु दुई लाखको बीउ पूँजी सहयोग गरिएको जानकारी दिए। रासस