नाका खोल्दा केन्द्रबाटै भेदभाव, भारत पुग्‍न चोर बाटोको भर

थाहा खबर

काठमाडाै‌ं

भद्रपुर : भारतको विहार तथा बङ्गाल राज्यसँग जोडिएको झापामा जिल्लामा दुईवटा मुख्य नाका छन्। काँकडभिट्टा र भद्रपुर। दुवै नाकामा मूल भन्सार रहेको छ। जिल्लाका अन्य नाकाहरूमा छोटी भन्सार कार्यालय छ। तर, काँकडभिट्टा नाकाबाहेक अन्य नाकाहरू लामो समयदेखि कोरोना भाइरसको महामारीका कारण सरकारले बन्द राखेको छ।

चैत ११ गतेदेखि आवागमन रोकिएका जिल्लाका अन्य नाकाहरू सरकारले अझै खुलाएको छैन। काँकडभिट्टा नाकाबाट मात्र तोकिएको मापदण्डभित्र रहेर घरायसी सामान खरिद गर्न भारत जान दिइएको छ।

जिल्लाका दुई मुख्य नाकामध्ये काँकडभिट्टामात्र खुला राख्दा भद्रपुरलगायत दक्षिणी झापावासीले सास्ती झेल्नु परेको छ। भद्रपुर नाका पनि खुलाउनुपर्छ भनी मेची पुलमा यसअघि पटक पटक स्थानीयले धर्ना दिएका थिए।

तर, सरकारले भद्रपुर नाका पूर्ण रूपमा खुलाउन अहिलेसम्म कुनै निर्णय गरेको छैन। भारतबाट भित्र्याउने सरसामानका लागि मात्र नाका खुला गरिएको छ। सरकारले मुख्य नाकालाई प्राथमिकतामा राखेर खुलाउनुपर्नेमा गृह मन्त्रालयले मन्त्रिपरिषद् निर्णयका आधारमा थप १६ वटा नाका खुलाउने भनी माघ ११ गते निर्णय गरेको थियो।

खुलाउने भनिएका थप नाकाहरूमा जिल्लाको दोस्रो मुख्य नाका भद्रपुर भने परेन। त्यसमा झापाको खजुरगाछी नाका राखियो। विहारको फत्तेपुर नाकासँग जोडिएको गौरीगञ्ज गाउँपालिकाको खजुरगाछीमा मेची भन्सार कार्यालय अन्तर्गत आठ मौजा छोटी भन्सार रहेको छ।

सो नाका आइतबारदेखि सञ्चालनमा आएको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्लिसिनाले बताए। 'माई पूर्व र माई पश्चिम झापावासीलाई लक्षित सरकारले दुइटा नाका खुलाएको छ। ती दुई नाकाबाट घरायसी सामान किनमेल, नातागोता भेटघाट, खेतीपाती गर्न जान पाइन्छ, अरू नाकाबाट जान पाइँदैन', उनले भने।

प्रकाशित मिति: : 2021-02-03 09:21:00

प्रतिकृया दिनुहोस्