नक्कली हतियार लिएर परेड खेल्दै पूर्वजनमुक्ति सेना

सेतोपाटी

काठमाडाै‌ं

माघ १८ गते बेलुका पूर्ण मगरले आफ्नो फेसबुक वालमा केही तस्बिर पोष्ट गरे। 

तस्बिमा पूर्वमाओवादी लडाकुहरू परेड खेलिरहेका देखिन्थे। उनीहरूमध्ये केहीका हातमा नक्कली (प्लाष्टिकका) हतियार पनि देखिन्छन्। पूर्ण दस वर्षसम्म सशस्त्र युद्ध गरेको तत्कालीन विद्रोही शक्ति नेकपा माओवादीको आफ्नै सुरक्षादस्ता जनमुक्ति सेनाका पूर्वबटालियन कमाण्डर हुन्।

पूर्णले फोटो पोष्ट गरेपछि त्यसले धेरैको ध्यान खिच्यो। पूर्णका अनुसार माघ १८ गते दिउँसो करिब ९० जना जति पूर्वलडाकु सक्राम ब्यारेकमा जम्मा भएका हुन्।
‘त्यो दिन हामीले मेस चलायौं, त्यहीँ पकाएर खाना खायौं। आपसमा सुख-दुःखका कुरा बाँडियो,’ पूर्णले भने, ‘त्यो जमघटले हाम्रो विगत ताजा बनाउन मद्दत गर्‍यो।’ 

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १९ स्थित सक्राम ब्यारेकमा शान्ति प्रक्रियापछि माओवादी सेना व्यवस्थापन नहुँदासम्म राखिएको एक ठाउँ हो। त्यो दिन उनीहरूले आफू बसेको ठाउँको सरसफाइ पनि गरे।

राज्यले संग्रहालय निर्माण गर्ने भने पनि अहिले संक्राम ब्यारेक सबैले भुलेको र जीर्ण अवस्थामा पुगेको देख्दा चित्त दुखेको पूर्णले बताए।

‘हामी देशलाई आवश्यक पर्‍यो भने तयारी अवस्थामा छौं है भन्ने हो,’ पूर्णले भने, ‘जनमुक्ति सेना फेरि पनि आइपर्दा आफ्नो अस्तित्व जोगाउन तयार हुने छ भन्ने राज्यलाई सन्देश पनि हो।’

तर, उनले आफूहरूलाई विप्लव माओवादीसँग नजोड्न आग्रह गरे। उक्त जमघटमा पूर्वलडाकुले आफूहरूलाई राज्य, पार्टी र आफ्नै नेताहरूले समेत धोका दिएको भन्दै गुनासो गरेको पूर्णले बताए।

पूर्णले पनि प्रचण्डले हिजो जनमुक्ति सेना र जनअदालतलाई विघटन गरेर आफूहरूलाई धोका दिएको बताए।

‘हामी कालिबहादुर खामहरू जस्तो मन्त्री खान पाइन्छ कि भनेर केपी शर्मा ओलीतर्फ जाँदैनौं,’ पूर्णले भने, ‘हिजोको लडाइँ प्रचण्डको कमाण्डरमा लडेका हौं, त्यसैले आज केपीसँग हामीले आफ्नो अधिकार माग्न मिल्दैन।’

प्रकाशित मिति: : 2021-02-02 17:52:00

प्रतिकृया दिनुहोस्