नेकपाका दुई पक्ष वाक् युद्धमा, युद्ध मैदानमै बज्दैछ ‘एकताको राग’

काठमाडौंप्रेस

काठमाडाै‌ं

काठमाडाैं, माघ १६ : नेकपाका दुई पक्ष आपसी वाक् युद्धमा छन्। एकले अर्कोलाई नांगेझार बनाउने कसरतमा दुवै पक्ष जुटिरहँदा प्रधानमन्त्री केपी ओली निकटस्थताको आरोप खेपिरहेका नेता वामदेव गौतमले बुधबार ‘पार्टी एकता राष्ट्रिय अभियान’ घोषणा गरे।

बुधबार नै उपप्रधानमन्त्री ईश्वर पोखरेलले राजविराजमा प्रचण्ड–माधवकुमार नेपाल समूहले प्रधानमन्त्री ओलीविरुद्धको आरोप पत्र फिर्ता लिएर निर्वाचनमा जाने स्वीकारोक्तीसहित आएमा फेरि पार्टी एकता हुन सक्ने अभिव्यक्ति दिए। पोखरेलको प्रत्युत्तरमा नेता नेपालले एकता या सहकार्यका लागि प्रधानमन्त्री ओलीले माफी माग्नुपर्ने सर्त अगाडि सारे।

अर्थात्, वाक् युद्धको मैदानमा एकताको मिठो राग सुनिन थालेको छ । त्यो पनि सर्तसहितको एकताको राग। र, एकले अर्कालाई एकताविरोधी रहेको प्रमाणित गर्ने मनशायका साथ।

एकअर्कालाई खुइल्याउन अग्रसर दुवै समूहबीच एकताको सम्भावना छ त? प्रचण्ड–नेपाल समूहमा खुलेका नेता डा. विजय पौडेल भन्छन्, ‘तत्काल एकता र सहकार्य दुवै सम्भव छैन।’ उनका अनुसार अहिले एकताको विन्दु पहिल्याउन कतैबाट संवाद र पहल पनि सुरु भएको छैन। ‘एकताको नाममा टिम जुटाएर ओली समूहमा पुर्याउने वामदेवजीको रणनीति हो, एकताका कुरा भाषण मात्र हुन्,’ डा. पौडेल भन्छन्, ‘ओलीजी ‘हम जहाँ खडे होतें हे, वहीं से लाइन सुरु होता हे’ भन्ने भ्रममा देखिनुहुन्छ। उहाँले धर्ति नटेकी एकता सम्भव छैन। एकपटक माटोमा पछारिएपछि मात्र ओलीजी भ्रमबाट मुक्त हुनु हुनेछ।’

प्रकाशित मिति: : 2021-01-29 15:15:00

प्रतिकृया दिनुहोस्