नवलपरासीमा बुधवार राति विष सेवन गरेर छोरीसहित आमाको मृत्यु भएको छ।
मृत्यु हुनेमा पश्चिम नवलपरासी सरावल गाउँपालिका ५ धनगडवाकी ३५ वर्षीय अनिता चौधरी र उनका दुई छोरी रहेकी छन्। विष सेवन गरेका उनीहरुको चिच्याहाट सुनेपछि स्थानीयहरु अनिताको घरमा पुगेका थिए।
छिमेकि उनीहरु अस्पताल लैजाँदा १२ वर्षीय नेहा र १० वर्षीय हेमाको केही घण्टाको फरकमा मृत्यु भएको थियो।
'अहिलेसम्म विष सेवनबाट नै मृत्यु भएको देखिएको छ। पहिले आमाको त्यसपछि छोरीहरुको मृत्यु भएको हो,' पश्चिम नवलपरासी जिल्ला प्रहरी कार्यालयका डिएसपी राजु लामाले भने।
आमालगायत छोरीहरुले विष पिएर कराउन थालेपछि करिब ९ बजेतिर स्थानीय चौधरीको घरमा पुगेका थिए।
तर घर भित्रपट्टीबाट ताल्चा लगाइएको थियो। छिमेकीहरुले ताल्चा फोडेर उनीहरुलाई पृथ्वीचन्द्र अस्पताल परासी लागिएको थियो। त्यहाँ उपचार नभएपछि भैरहवा अस्पतालमा रिफर गरिएको थियो। त्यहि नै अनिताको मृत्यु भयो।
अनिता छोरीहरुसंग बस्दै आएका थिइन्। उनका श्रीमान भने रोजगारीको सिलसिलामा मलेसियामा छन्।
घटनास्थलबाट प्रहरीले विषको चक्की समेत फेला पारेको छ। वान्तमा पनि चक्की भेटिएको छ। गिलासमा विषाधी भेटिएको र त्यससम्बन्धि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
काठमाडौं उपत्यकामा केही महिनाअघि विष सेवन गरेर हत्या तथा आत्महत्या गरेको खबर सेलाउन नपाउँदै परासीको यो घटना दोहोरीएको हो। नेपालमा पछिल्लो समय आत्महत्याका घटना बढेर गएको छ।